·

दरमखोला हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Author

NEPSE TRADING

दरमखोला हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिन आज साउन १९ गते आइतबार अन्तिम दिन रहेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक चरणमा आईपीओ निष्काशन गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि २४ लाख २३ हजार १८५ कित्ता साधारण शेयर निष्काशन गरेको हो।

यो शेयर कम्पनीको १ अर्ब ३ करोड ५ लाख रुपैयाँको जारी पूँजीको ३८.३३ प्रतिशत हो। यसमध्ये १० लाख ३० हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीयहरूका लागि र २ लाख ९१ हजार ९५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिसकिएको छ। त्यस्तै, कम्पनीका कर्मचारीहरूका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर छुट्याई बाँडफाँट गरिसकिएको छ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई “IRN BB-” रेटिङ प्रदान गरेको छ, जसले औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले निर्माण गरिरहेको ९.६ मेगावाट क्षमताको दरम खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत २ अर्ब ३८ करोड रुपैयाँ छ। आयोजनाको विद्युत अनुमतिपत्रमा अझै २८ वर्ष बाँकी रहेको छ भने लगानी फिर्ता हुने अवधि ९.८३ वर्ष र डिस्काउन्टेड पेब्याक अवधि १७.९० वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखाबाट आवेदन दिन सक्नेछन्।

Related News