ट्रेजरी बिलमा प्रतिस्पर्धा बढ्दा डिस्काउन्ट रेट २ प्रतिशतभन्दा तल
Author
NEPSE TRADING

काठमाडौं । पछिल्ला दिनमा बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहँदा सरकारी ऋणपत्र (ट्रेजरी बिल) खरिदमा अभूतपूर्व प्रतिस्पर्धा देखिएको छ। माग भन्दा कैयौँ गुणा बढी आवेदन परेपछि डिस्काउन्ट रेट २ प्रतिशतभन्दा तल झरेको छ।
गत भदौ २३ गते बोलकबोल भएको ९१ दिने ट्रेजरी बिलमा डिस्काउन्ट रेट १.९९ प्रतिशत कायम भएको थियो। सो ८ अर्ब ५० करोड बराबरको बिल खरिदका लागि ६३ अर्ब ६० करोड बराबरको आवेदन परेको थियो, जसले प्रतिस्पर्धा झनै तीव्र भएको प्रमाणित गर्यो।
यसैक्रममा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (असोज ५ सोमबार) साढे १९ अर्ब ४९ करोड २० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरणका लागि बोलकबोल गर्ने भएको छ। यसमा २८ दिन अवधिको ५ अर्ब र ९१ दिन अवधिको १४ अर्ब ४९ करोड २० लाख बराबरको बिल जारी हुनेछ। बोलकबोल आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइनमार्फत हुने र निष्काशन भने असोज ७ गते मंगलबार हुने कार्यालयले जनाएको छ।
हाल सबै प्रकारका ट्रेजरी बिलको डिस्काउन्ट रेट ३ प्रतिशत भन्दा तल झरेको छ। अन्य क्षेत्रमा लगानी विस्तार हुन नसक्दा बैंक तथा वित्तीय संस्थाहरुले सरकारी ऋणपत्रमै लगानी गर्न खोजिरहेका छन्, जसको परिणाम स्वरूप अल्पकालीन ब्याजदर समेत तल झरेको देखिन्छ।



