·

ट्रम्पले चिनियाँ राष्ट्रपतिसँगको शिखर वार्ता अस्वीकार गरे — चीन ‘शत्रुतापूर्ण’ हुँदै गएको आरोप

Author

NEPSE trading

ट्रम्पले चिनियाँ राष्ट्रपतिसँगको शिखर वार्ता अस्वीकार गरे — चीन ‘शत्रुतापूर्ण’ हुँदै गएको आरोप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिना हुने भनिएको चिनियाँ समकक्षी सी जिनपिङसँगको शिखर वार्ता आवश्यक नभएको बताएका छन्। उनले चीन ‘क्रमशः शत्रुतापूर्ण’ बन्दै गएको आरोप लगाएका छन्।

शुक्रबार आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सन्देश जारी गर्दै ट्रम्पले लेखेका छन्, “चीनमा केही अनौठा गतिविधि भइरहेका छन्। तिनीहरू धेरै शत्रुतापूर्ण बन्दै गएका छन्।” उनले भने, “मैले दुई हप्तापछि दक्षिण कोरियाको एपेक सम्मेलनमा राष्ट्रपति सीसँग भेट्ने कार्यक्रम तय गरेको थिएँ, तर अहिले त्यसो गर्नुको कुनै कारण देखिँदैन।”

ट्रम्पको यो प्रतिक्रिया चीनले दुर्लभ खनिजहरूको निर्यातमा नियन्त्रण लगाउने निर्णयपछि आएको हो। यी खनिज तत्वहरू स्मार्टफोन, इलेक्ट्रिक सवारीसाधन, नवीकरणीय ऊर्जा प्रविधि र सैन्य उपकरण उत्पादनका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन्।

ट्रम्पले चीनको नीतिलाई ‘विश्वलाई बन्धक बनाउन खोज्ने प्रयास’ भन्दै कडा आलोचना गरे। उनले भने, “चीनलाई विश्वलाई नियन्त्रणमा राख्न दिने कुनै अर्थ छैन, तर उनीहरूको योजना त्यही देखिन्छ।”

ट्रम्पले अमेरिकी नीतिमा चीनमाथि थप शुल्क वृद्धि गर्ने तयारी भइरहेको उल्लेख गर्दै भने, “हामी अहिले अमेरिका भित्रिने चिनियाँ सामानमा कर बढाउने नीति लागू गर्न खोजिरहेका छौं।”

उनले अन्य देशहरू पनि अमेरिकासँग सम्पर्कमा रहेको र चीनको ‘ठूलो व्यापार शत्रुताको’ बारेमा गम्भीर हुन आवश्यक रहेको बताए। ट्रम्पले चिनियाँ राष्ट्रपतिसँग यस विषयमा कुनै सीधा वार्ता नभएको स्पष्ट पारे।

चीनले विश्वव्यापी रूपमा दुर्लभ खनिजहरूको उत्पादन र प्रशोधनमा अग्रणी भूमिका खेलेको छ। त्यसैले निर्यात नियन्त्रण नीतिले विश्वका उच्च प्रविधि उद्योगहरूमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।

Related News