·

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर, नयाँ मुद्दा दर्ताको पहिलो दिनमै राजनीतिक हलचल

Author

NEPSE TRADING

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर, नयाँ मुद्दा दर्ताको पहिलो दिनमै राजनीतिक हलचल

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। मंगलबार बिहान सर्वोच्च अदालतमा दर्ता भएको उक्त रिटबारे जानकारी दिँदै अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले सरकार असंवैधानिक रहेको भन्ने एक र प्रतिनिधि सभा विघटनविरुद्ध दुई वटा गरी जम्मा तीन रिट परेको जानकारी दिएका छन्।

प्रवक्ता कोइरालाले भने, “रिट अध्ययनकै क्रममा छ। अध्ययनपछि बाँकी प्रक्रिया अगाडि बढाइनेछ।”

यसअघि भदौ २४ गते ‘जेनजी प्रदर्शन’का क्रममा सर्वोच्च अदालत पूर्णरूपमा जलेको थियो। सो घटनापछि अदालतले नयाँ मुद्दा दर्ता लिन बन्द गरेको थियो। करिब ८० प्रतिशत मुद्दाका मिसिल जलेका कारण पुराना मुद्दा तत्काल अघि बढाउन नसकिने अवस्था उत्पन्न भएको थियो।

तर, अदालतले मंगलबारदेखि पुनः नयाँ मुद्दा हेरेर अगाडि बढाउने निर्णय गरेसँगै प्रतिनिधि सभा विघटनविरुद्धको रिट नै पहिलो मुद्दा बनेको हो।

स्रोतका अनुसार, भदौ २७ गते सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। प्रधानमन्त्री कार्कीकै सिफारिसमा सोही रात राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेका थिए।

यो निर्णयपछि देशको राजनीतिक वृत्तमा पुनः अस्थिरता र संवैधानिक बहस सुरु भएको छ। अब सर्वोच्च अदालतको निर्णयले राजनीतिक गतिलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

Related News