·

भन्सार शुल्क वृद्धिका कारण डब्लुटिओले २०२६ को विश्व व्यापार वृद्धिदर घटायो

Author

NEPSE trading

भन्सार शुल्क वृद्धिका कारण डब्लुटिओले २०२६ को विश्व व्यापार वृद्धिदर घटायो

विश्व व्यापार संगठन (डब्लुटिओ) ले सन् २०२६ का लागि विश्व वस्तु व्यापार (मर्चेन्डाइज ट्रेड) वृद्धिदरको पूर्वानुमान घटाएर १.८ प्रतिशतमा झारेको छ, जुन यसअघि २.५ प्रतिशत हुने अनुमान गरिएको थियो। डब्लुटिओले यस गिरावटको प्रमुख कारणका रूपमा अमेरिकाले भन्सार शुल्क वृद्धि गरेको नीतिलाई औंल्याएको छ।

शुक्रबार सार्वजनिक गरिएको पछिल्लो व्यापार पूर्वानुमानमा डब्लुटिओले अमेरिकाले अगस्ट ७ देखि लागू गरेको ‘पारस्परिक भन्सार दर’ ले न केवल अमेरिकी आयात घटाउने, तर साझेदार मुलुकहरूको निर्यातमा समेत गम्भीर असर पार्ने चेतावनी दिएको छ। यो असर सन् २०२५ को दोस्रो छमाहीदेखि २०२६ सम्म झनै गहिरिने अनुमान गरिएको छ।

सोही कारण डब्लुटिओले सन् २०२५ का लागि पनि व्यापार वृद्धिदरको अनुमान घटाउँदै ०.९ प्रतिशतमा झारेको छ, जुन यसअघि अप्रिलमा २ प्रतिशत हुने अनुमान गरिएको थियो। हालको अनुमान भन्सार नबढाउने अवस्थामा हुने २.७ प्रतिशतको वृद्धिदरभन्दा निकै कम हो। यो आंशिक रूपमा अमेरिकाबाट भइरहेको अग्रिम आयात (फ्रन्टलोडिङ) को असर भएको जनाइएको छ।

क्षेत्रगत विश्लेषण अनुसार, आगामी वर्ष एसियाली मुलुकहरू विश्व व्यापार वृद्धिका प्रमुख सकारात्मक चालक बन्नेछन् भने उत्तर अमेरिकी क्षेत्रले २०२५ र २०२६ दुवै वर्षमा नकारात्मक असर पार्नेछ।

डब्लुटिओकी महानिर्देशक एनगोसी ओकोन्जो–इवेलाले भन्सार नीतिमा भइरहेको अनिश्चितताले व्यवसायिक आत्मविश्वास, लगानी र आपूर्ति प्रणालीमा गहिरो दबाब सिर्जना गरिरहेको बताउँदै यसलाई विश्व व्यापार वातावरणका लागि अत्यन्त विघटनकारी भएको चेतावनी दिएकी छिन्।

Related News