·

बन्दीपुर होटल लेमन ट्री ब्रान्डअन्तर्गत सञ्चालन हुने, १५ वर्षे फ्रेन्चाइजी सम्झौता

Author

Marketminds Investment Group

बन्दीपुर होटल लेमन ट्री ब्रान्डअन्तर्गत सञ्चालन हुने, १५ वर्षे फ्रेन्चाइजी सम्झौता

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेड र भारतको अग्रणी अन्तर्राष्ट्रिय होटल शृङ्खला लेमन ट्री होटल्स लिमिटेडबीच होटल सञ्चालनका लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि बन्दीपुरस्थित होटल लेमन ट्री होटल्सको अन्तर्राष्ट्रिय ब्रान्डअन्तर्गत सञ्चालनमा आउने भएको छ ।

सम्झौतामा हस्ताक्षर समारोह भारतको नयाँ दिल्लीस्थित लेमन ट्री होटल्स लिमिटेडको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेडका तर्फबाट चिफ अथराइज्ड कन्सल्टेन्ट विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडका तर्फबाट मुख्य कार्यकारी अधिकृत विलास पवारले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार होटलको समग्र व्यवस्थापन, ब्रान्डिङ, अन्तर्राष्ट्रिय बजारीकरण, सेवा गुणस्तर नियन्त्रण, मानव संसाधन विकास तथा विश्वव्यापी आरक्षण प्रणालीमा पहुँच लेमन ट्री होटल्समार्फत सुनिश्चित गरिनेछ । यस सहकार्यले बन्दीपुरलाई अन्तर्राष्ट्रिय पर्यटक गन्तव्यका रूपमा थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

भारत, मध्यपूर्व र एसियाका विभिन्न मुलुकमा १०० भन्दा बढी होटल र ९ हजारभन्दा बढी कोठासहितको उपस्थिति रहेको लेमन ट्री होटल्सको वैश्विक नेटवर्क, कर्पोरेट ट्राभल सेग्मेन्ट तथा अन्तर्राष्ट्रिय टुर अपरेटरहरूसँगको सहकार्यले बन्दीपुरको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

कम्पनीका अनुसार यो सहकार्य बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेडका लागि महत्वपूर्ण रणनीतिक उपलब्धि हो । अन्तर्राष्ट्रिय ब्रान्डसँगको साझेदारीले होटलको अकुपेन्सी दर बढाउने, विदेशी मुद्रा आर्जनमा वृद्धि गर्ने, राजस्व स्थायित्व कायम गर्ने र कम्पनीको ब्रान्ड मूल्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । यसले लगानीकर्ताको विश्वास मजबुत बनाउने र बजारमा कम्पनीको विश्वसनीयता थप सुदृढ गर्ने बताइएको छ ।

सम्झौतापछि बन्दीपुर क्षेत्रमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन बढ्ने, स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुने तथा सेवा गुणस्तर र पर्यटन पूर्वाधारमा सुधार आउने अनुमान गरिएको छ । बन्दीपुरस्थित होटल छिट्टै लेमन ट्री होटल्सको ब्रान्ड नाम र अन्तर्राष्ट्रिय मापदण्डअनुसार औपचारिक रूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

Related News