·

बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश वितरण गर्दै, अधिकांश वाणिज्य बैंकको लाभांश घट्यो

Author

NEPSE TRADING

बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश वितरण गर्दै, अधिकांश वाणिज्य बैंकको लाभांश घट्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको नाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरणको प्रक्रिया तीव्र बनाएका छन् । केही बैंकले घोषणा गरेको लाभांश वार्षिक साधारण सभाबाट पारित गरिसकेका छन् भने केहीले अझै लाभांश घोषणा गर्न बाँकी छ ।

हालसम्म २० वटा वाणिज्य बैंकमध्ये १३ वटाले लाभांश घोषणा गरिसकेका छन् । यस्तै, ८ वटा विकास बैंकले पनि शेयरधनीलाई लाभांश दिने निर्णय सार्वजनिक गरेका छन् । तर वाणिज्य बैंकहरूको लाभांश अघिल्लो वर्षको तुलनामा प्रायः सबैको घटेको देखिएको छ ।

बैंकहरूले निक्षेप संकलन, कर्जा प्रवाह तथा अन्य वित्तीय सेवाबाट आर्जन गरेको मुनाफाको एक हिस्सा नियमानुसार शेयरधनीलाई लाभांशका रूपमा वितरण गर्नुपर्ने व्यवस्था छ । हालसम्म लाभांश घोषणा गर्ने बैंकहरूमध्ये सबैभन्दा बढी लाभांश दिनेमा एभरेष्ट बैंक अग्रस्थानमा रहेको छ भने सबैभन्दा कम लाभांश दिनेमा सिटिजन्स बैंक रहेको छ । कुमारी बैंकले भने यस वर्ष लाभांश नदिने निर्णय गरेको छ ।

कुन बैंकले कति दिए लाभांश ?

एभरेष्ट बैंक
एभरेष्ट बैंकले हालसम्म सबैभन्दा बढी २० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश साधारण सभाबाट पारित गरिसकेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको उक्त प्रस्ताव वार्षिक साधारण सभाबाट पारित भइसकेको छ ।

कृषि विकास बैंक
कृषि विकास बैंकले कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । यसमा ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश समावेश छ । उक्त प्रस्ताव साधारण सभाबाट पारित गरिनेछ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश गरी उक्त प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ ।

एनएमबि बैंक
एनएमबि बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकले ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने जनाएको छ ।

लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । यसमा १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश समावेश छ । बैंकले लाभांश पारित गर्न पुस १ गते साधारण सभा बोलाएको छ ।

नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकले ९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव असोज १४ गते सम्पन्न साधारण सभाबाट पारित गरिसकेको छ ।

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले बोनस सेयर नदिई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव कार्तिक २६ गते सम्पन्न साधारण सभाबाट पारित गरिसकेको छ ।

सानिमा बैंक
सानिमा बैंकले ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले यस वर्ष बोनस सेयर नदिई नगद लाभांश मात्र दिने भएको हो ।

सिटिजन्स बैंक
सिटिजन्स बैंक इन्टरनेसनलले कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ ।

अर्थविद्हरूका अनुसार कर्जा विस्तार सुस्त हुनु, बढ्दो खराब कर्जा र कडाइ गरिएको नियामकीय व्यवस्था कारण यस वर्ष बैंकहरूको नाफा दबाबमा परेको छ । यसको असर लाभांश वितरणमा समेत देखिएको उनीहरूको विश्लेषण छ ।

Related News