बिटक्वाइनको नयाँ उचाइ: मूल्य १ लाख ११ हजार डलर नाघ्दै, लगानीकर्ता आशावादी
Author
NEPSE trading

विश्वको प्रमुख क्रिप्टोकरेन्सी बिटक्वाइनले पुनः नयाँ कीर्तिमान बनाउँदै इतिहास रचेको छ। बिहीबार बिहान प्रारम्भिक एसियाली कारोबार अवधिमा बिटक्वाइनको मूल्य १ लाख ११ हजार ६९१.५० डलर सम्म पुगेको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।
बिहीबार यु.टी.सी. समय अनुसार बिहान ४ बजे सबैभन्दा उच्च मूल्यमा पुगेर बिटक्वाइन हालको कारोबारमा १ लाख १० हजार ७३१ डलर आसपासमा स्थिर देखिएको छ। मूल्यमा दैनिक १.०३ प्रतिशतको वृद्धि देखिएको छ, जुन १,१२५ डलरको वृद्धिका रूपमा उल्लेखनीय हो।
बजार विश्लेषकहरूका अनुसार यो वृद्धिपछि क्रिप्टो बजारमा लगानीकर्ताहरूको उत्साह झनै बढेको देखिएको छ। ब्लुमबर्गको डेटा अनुसार पछिल्लो केही दिनयता बिटक्वाइनमा लगानी गर्ने संस्थागत तथा खुद्रा लगानीकर्ता दुबैको चाप बढ्दो छ।
अमेरिकी राजनीतिक र वित्तीय परिदृश्य पनि यसमा निर्णायक बनेको विश्लेषकहरू बताउँछन्। अमेरिकाको सिनेटमा स्टेबलकोइनसम्बन्धी विधेयक अगाडि बढिरहेको बेला क्रिप्टो बजारमा नियामकीय स्पष्टता आउने संकेत देखिएको छ। यसले लगानीकर्तामा विश्वास थपिएको हो।
यता, अमेरिकी व्यापारी माइकल साइलर को कम्पनीले ५० अर्ब डलरभन्दा बढीको बिटक्वाइन संकलन गरिसकेको अवस्था र डिजिटल सम्पत्तिमा आममानिसको आकर्षण बढेको अवस्थाले पनि बिटक्वाइनको मूल्य बढाउने बल मिलेको हो।
बजार विश्लेषकहरूका अनुसार यस्तो वृद्धिपछि थप अस्थिरता आउन सक्ने सम्भावना पनि रहन्छ। मूल्य एक्कासी बढेपछि नाफा सुनिश्चित गर्न अल्पकालीन लगानीकर्ताले बिक्री गर्न सक्ने सम्भावना औंल्याइएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेमेकोइन होल्डरहरूसँग आफ्नो गल्फ क्लबमा डिनर बैठक गर्न लागेको समाचार बाहिरिएपछि पनि बजारमा हलचल देखिएको छ। विज्ञहरूले यसमा राजनीतिक हस्तक्षेप र स्वार्थ द्वन्द्वको खतरा देखाउँदै आलोचना गरेका छन्।
तर, यस्ता राजनीतिक र नीतिगत संकेतहरूमाथि आशावादी मुद्रामा प्रतिक्रिया जनाउँदै बिटक्वाइनले इतिहासकै उच्च विन्दु छुने सफलता पाएको हो। क्रिप्टो बजारमा फेरि एकपटक ब्यापक चर्चा सुरु भएको छ।