·

लगातार गिरावट: नेप्से २८ सय भन्दा तल, प्राविधिक सूचकहरु नकारात्मक

Author

NEPSE TRADING

लगातार गिरावट: नेप्से २८ सय भन्दा तल, प्राविधिक सूचकहरु नकारात्मक

नेपाली शेयर बजारमा ठूलो गिरावट देखिएको छ। केही समय अघि ३,००० को लेभल छोएको बजार लगातार ओरालो लाग्दै आज २८ सय भन्दा तल झरेको छ। हौसिएर शेयर खरिद गरेका साना लगानीकर्ताहरू तनावमा परेका छन्। बैंकको ऋण वा ब्रोकरको उधारो प्रयोग गरेर बजारमा नाफा कमाउने आशा गरेका लगानीकर्तामा झनै प्यानिक देखिएको छ।

सधैं साउन–भदौ महिनामा बजार हरियो देखिने परम्पराको विपरीत यसपटक बजारमा बिक्री दबाब (Selling Pressure) हावी छ। करिब २ सय अंकको गिरावट प्रायः ट्रेडर र टेक्निकल लगानीकर्ताको बिक्रीका कारण आएको देखिए पनि ठूला र संस्थागत लगानीकर्ताले खासै बिक्री नगरेको पाइन्छ। यद्यपि, बजारको यो गिरावट धेरैका लागि आश्चर्यजनक भएको छ। केहीले माइक्रोफाइनान्सको लाभांश क्याप असोजमा मात्र हट्ने, प्रमोटर र पब्लिकका लागि छुट्टै डिम्याट नम्बरको प्रस्तावजस्ता कारण देखाएका छन् भने केहीले ब्रोकरको उधारो रकमका कारण बजार घटेको दाबी गरेका छन्। केही विश्लेषकले भने बजार २,७५० भन्दा तल नझर्ने विश्वास व्यक्त गरेका छन्।

हालसम्म करिब तीन दर्जन कम्पनीहरूले वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्, जसमा अधिकांशको नाफा बढेको छ। २० वाणिज्य बैंकमध्ये १० बैंकले नाफासहितको विवरण प्रकाशन गरेका छन् तर यसले लगानीकर्ताको मनोबल उठाउन सकेको छैन। डेढ दर्जनभन्दा बढी लघुवित्त र केही विकास बैंकहरूले पनि आकर्षक नाफा वृद्धि देखाएका छन् भने कतिपय म्युचुअल फन्डहरूले गत आवको प्रतिफल घोषणा गरिसकेका छन्।

सुधारिएका वित्तीय सूचक र नाफा वृद्धि हुँदाहुँदै पनि बजारमा भारी गिरावट आएको छ। धेरै वाणिज्य बैंक, लघुवित्त र जलविद्युत कम्पनीहरूले आकर्षक नाफा ल्याउने अनुमान गरिए पनि लगानीकर्ता प्यानिक अवस्थामा छन्। लघुवित्तको लाभांश सीमा पुनरावलोकन वार्षिक प्रतिवेदन स्वीकृत अघि वा पछि हुने अनिश्चितताले लघुवित्तका शेयरमा उतारचढाव बढाएको छ। यससँगै शेयर कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य हुने नियमले पनि कारोबारमा असर पारेको छ।

आजको बजारमा समग्र गिरावट भए पनि सिटी होटलको शेयर सकारात्मक सर्किटमा कारोबार भयो भने समाज लघुवित्तको मूल्य ४% भन्दा बढी बढ्यो। विपरीत, सिक्लेस हाइड्रोपावर नकारात्मक सर्किटमा कारोबार भयो। कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा शीर्ष स्थानमा रह्यो, जसको कारोबार मूल्य २६ करोड ७७ लाख रुपैयाँ रह्यो।

प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषकका अनुसार बजार २,९५० नजिक पुग्दा नै ‘वन क्यान्डल सेल’ संकेत मिलेको थियो र बजार २,७८०–२,८०० सम्म झर्ने अनुमान गरिएको थियो, जुन अहिले वास्तविक भएको छ। बढ्ने प्रयास हुँदा पनि कारोबार रकम बढ्न नसकेको छ। आजको २६ अंकको गिरावट र घट्दो बजारमा कारोबार रकम घट्नुलाई केही मात्रामा सकारात्मक मानिएको छ। प्राविधिक विश्लेषक अजीत खानालका अनुसार पछिल्लो समयका सबै प्रमुख सपोर्ट भंग भएका छन्। ५०% रिट्रेसमेन्ट लेभल पनि भंग भई बजार मनोवैज्ञानिक २,८०० को लेभल मुनि बन्द भएको छ। अबको प्रमुख सपोर्ट ६१% रिट्रेसमेन्ट लेभल (२,७५५) वा ५० दिने मूभिङ एभरेज नजिक हुनेछ।

ब्रोकर विश्लेषण
आजको बजारमा शीर्ष १० ब्रोकरमध्ये ५ वटाले तुलनात्मक रूपमा बढी खरिद गरेका छन् भने बाँकी ५ वटाले बढी बिक्री गरेका छन्।

Related News