च्याटबोटसँग संवेदनशील जानकारी सेयर नगर्न विज्ञहरूको चेतावनी
Author
NEPSE trading

कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीहरूमध्ये च्याटबोटहरू सहायक र व्यवहारिक जस्तो देखिए पनि, विज्ञहरूले यस्ता प्रविधिहरूसँग संवेदनशील जानकारी सेयर नगर्न कडा चेतावनी दिएका छन्।
न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार, क्लीभल्यान्ड क्लिनिकको तथ्यांकले पाँचमध्ये एक अमेरिकीले स्वास्थ्य सम्बन्धी सल्लाहका लागि एआई च्याटबोटको प्रयोग गरेको देखाएको छ। यस्तै, टेब्रा नामक संस्थाको २०२३ को सर्वेक्षणले करिब २५ प्रतिशत अमेरिकीहरूले परम्परागत थेरापीको सट्टा च्याटबोट रोज्ने संकेत दिएको थियो।
यसले एआईप्रतिको आकर्षण बढेको देखाउँछ तापनि विज्ञहरू भने सचेत गराउँछन् कि यस्ता प्रणालीहरू चिकित्सक होइनन्, न त तिनीहरूले गोपनीयता सुनिश्चित गर्छन्। विशेषज्ञहरूका अनुसार, निम्न सात किसिमका जानकारीहरू च्याटजीपीटी वा अन्य कुनैपनि एआई च्याटबोटसँग सेयर गर्नु हुँदैन:
व्यक्तिगत जानकारी — नाम, ठेगाना, फोन नम्बर वा ईमेलजस्ता जानकारीले प्रयोगकर्ताको पहिचान सार्वजनिक गर्न सक्छ।
वित्तीय विवरण — बैंक खाता, क्रेडिट कार्ड नम्बर वा सामाजिक सुरक्षा नम्बर चोर्ने जोखिम हुन्छ।
पासवर्ड — पासवर्ड सेयर गर्दा डाटा चोरी र खाता ह्याक हुने सम्भावना अत्यधिक हुन्छ।
गोप्य कुरा — च्याटबोटहरू मानवीय गोपनीयता जोगाउन सक्षम हुँदैनन्।
स्वास्थ्यसम्बन्धी सल्लाह — एआई चिकित्सक होइन, त्यसैले स्वास्थ्यसँग सम्बन्धित सल्लाह वा विवरण सेयर गर्नु जोखिमपूर्ण हुन्छ।
अनुचित सामग्री — यस्ता कुराले प्रयोगकर्ता प्रतिबन्धमा पर्न सक्ने खतरा रहन्छ।
अत्यन्त गोप्य जानकारी — जुन तपाईं अरुलाई कहिल्यै भन्न चाहनुहुन्न, त्यस्ता जानकारी एआईसँग सेयर गर्नु उपयुक्त हुँदैन।
विशेषज्ञहरूले थप चेतावनी दिएका छन् कि एआई च्याटबोटहरूसँग गरिएको संवाद कहिलेकाहीं स्टोर हुन सक्छ, जुन भविष्यमा कुनै न कुनै माध्यमबाट लीक हुनसक्छ।
यसैले, सावधानी अपनाउनु नै सुरक्षाको पहिलो उपाय हो भन्ने सन्देश दिन विज्ञहरूले आग्रह गरेका छन्।