चार महिनामा निर्यातमा ऐतिहासिक उछाल, आयात र व्यापार घाटा पनि बढ्दै
Author
NEPSE TRADING

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (२०८२ कात्तिकसम्म) मा नेपालको वैदेशिक व्यापारमा मिश्रित तस्वीर देखिएको छ। एकातिर वस्तु निर्यातमा उल्लेखनीय वृद्धि देखिएको छ भने अर्कोतर्फ आयात र व्यापार घाटा पनि बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा निर्यातको वृद्धिदर पछिल्ला वर्षहरूमध्ये सबैभन्दा उच्च देखिएको छ।
समीक्षा अवधिमा कुल वस्तु निर्यात ७७.५ प्रतिशतले वृद्धि भई ९३ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात वृद्धि दर मात्र ४.२ प्रतिशत रहेको थियो। निर्यातमा आएको तीव्र वृद्धिले पछिल्लो समय देखिँदै आएको बाह्य क्षेत्रको दबाब केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।
भारततर्फ निर्यात तीव्र, चीनतर्फ उल्लेखनीय गिरावट
गन्तव्य मुलुकका आधारमा हेर्दा भारततर्फको निर्यात ११३.९ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, अन्य मुलुकतर्फको निर्यात २.९ प्रतिशतले बढेको छ। तर, चीनतर्फको निर्यात ५६.२ प्रतिशतले घटेको देखिन्छ, जसले चीनसँगको व्यापार अझै सन्तुलित हुन नसकेको संकेत गर्दछ।
वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पल जस्ता वस्तुको निर्यात बढेको छ। तर जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा तथा हस्तकलाका सामग्री को निर्यात घटेको छ। यसले निर्यात वृद्धिको ठूलो हिस्सा केही सीमित वस्तुमा निर्भर रहेको देखाउँछ।
आयातमा दोहोरो अंकको वृद्धि
यसै अवधिमा कुल वस्तु आयात १८.७ प्रतिशतले वृद्धि भई ६०९ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात वृद्धि दर ०.२ प्रतिशत मात्र थियो। आयात वृद्धिले आन्तरिक माग विस्तार हुँदै गएको संकेत गरे पनि यसले बाह्य सन्तुलनमा थप दबाब सिर्जना गरेको छ।
मुलुकगत आधारमा भारतबाट आयात ६.६ प्रतिशत, चीनबाट २८.५ प्रतिशत र अन्य मुलुकबाट ४८.९ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत रूपमा भटमासको कच्चा तेल, सुन, रासायनिक मल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस् र चाँदी को आयात बढेको छ। तर हट रोल्ड सिट, खाने तेल, लसुन, तेलहन र दाल जस्ता वस्तुको आयात घटेको छ।
व्यापार घाटा अझै बढ्दो
उच्च आयातका कारण समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १२.० प्रतिशतले वृद्धि भई ५१५ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा भने व्यापार घाटा ०.३ प्रतिशतले घटेको थियो। यस अवधिमा निर्यात–आयात अनुपात १५.३ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको १०.३ प्रतिशत भन्दा सुधारिएको हो। तर आयातको परिमाण अत्यधिक भएकाले व्यापार घाटा अझै चुनौतीकै रूपमा देखिएको छ।
भारतीय रुपैयाँमा हुने आयात घट्दो
समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ५४ अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५७ अर्ब २४ करोड रुपैयाँ बराबरको थियो। यसले भारतीय बजारसँगको भुक्तानी संरचनामा केही सुधार देखिएको संकेत गर्दछ।
चार महिनाको तथ्याङ्कले नेपालको वैदेशिक व्यापारमा निर्यात पक्ष सकारात्मक देखिए पनि आयात र व्यापार घाटा अझै गम्भीर चुनौतीका रूपमा कायम रहेको स्पष्ट हुन्छ। निर्यात वृद्धिलाई दिगो बनाउन वस्तु विविधीकरण र नयाँ बजार खोजी अपरिहार्य देखिन्छ। साथै, उच्च आयातमा निर्भर अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन उत्पादनमूलक क्षेत्रको विस्तार र आयात प्रतिस्थापन नीतिमा थप प्रभावकारी कदम आवश्यक रहेको अर्थशास्त्रीहरूको धारणा छ।



