प्रचण्ड र अर्थमन्त्री विष्णु पौडेलबीच खुमलटारमा भेटघाट, बजेट सम्बन्धी परामर्श
Author
NEPSE trading

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री विष्णु पौडेलबीच आज खुमलटारमा भेटवार्ता सम्पन्न भएको छ।
दाहाल निवासमा भएको यो भेटघाट आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण सन्दर्भमा परामर्शका रूपमा भएको हो। दाहालको सचिवालयका अनुसार अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका नेताहरूसँग सुझाव र सल्लाह लिनका लागि भेटघाटको सिलसिलामा प्रचण्डसँग भेट गरेका हुन्।
यस भेटमा समावेशी बजेट निर्माण, वर्तमान आर्थिक चुनौती, सरकारी खर्चको प्राथमिकता तथा मुलुकको समग्र आर्थिक सुधारका विषयमा छलफल भएको बताइएको छ। पछिल्लो समय मुलुकको अर्थतन्त्रले सामना गरिरहेको दबाबका बीच यस्तो परामर्शले बजेटलाई प्रभावकारी र समावेशी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आर्थिक वर्ष २०८२/८३ को बजेट जेठ १५ गते संसद्मा प्रस्तुत गरिने तयारी भइरहेको छ। त्यसलाई लक्षित गर्दै अर्थ मन्त्रालयले विभिन्न राजनीतिक दलका नेताहरूसँग परामर्श र संवादलाई तीव्रता दिएको छ।