अर्थमन्त्री पौडेलले भोलि संसदमा आर्थिक सर्वेक्षण पेस गर्ने, वर्तमान अवस्था र आगामी चुनौतीको आँकलन हुने
Author
NEPSE trading

आगामी आर्थिक वर्ष २०८१/८२ काे बजेट सार्वजनिक हुनु दुई दिनअघि अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण पेस गर्न लागेका छन्। संसद् सचिवालयद्वारा सार्वजनिक कार्यसूचीअनुसार मंगलबार बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा ऊर्जा, वन तथा पर्यटनमन्त्रीको प्रश्नोत्तर सकिएपछि अर्थमन्त्रीले आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।
आर्थिक सर्वेक्षणले चालु आर्थिक वर्षको समग्र आर्थिक गतिविधिको विश्लेषण गर्नेछ। सरकारी कार्यालयहरूले उपलब्ध गराएका तथ्यांकका आधारमा उत्पादन, खर्च, राजस्व, वैदेशिक सहायता, लगानी, आयात–निर्यात, मुद्रास्फीति, वित्तीय क्षेत्रको स्थिति लगायतका प्रमुख सूचकहरू समेटिनेछन्।
सर्वेक्षणले मुलुकको वर्तमान आर्थिक अवस्था कस्तो छ भन्ने तथ्य प्रस्तुत गर्नुका साथै आगामी वर्षका आर्थिक चुनौतीहरूबारे स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ। यही सर्वेक्षणलाई आधार मानेर जेठ १५ गते बजेट तयार पारिने भएकोले यसले नीति निर्माण र बजेटको दिशा निर्धारणमा विशेष भूमिका खेल्नेछ।