बजेट तयारीका कारण अर्थ मन्त्रालय प्रवेशमा कडाइ
Author
NEPSE trading

आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण अन्तिम चरणमा पुगेसँगै अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ। बजेट तयारीलाई व्यवस्थित र योजनाबद्ध बनाउन मन्त्रालय प्रशासनले यस्तो कदम चालेको हो।
अर्थ मन्त्रालयका अनुसार, बजेट निर्माणसम्बन्धी परामर्श र सुझाव लिने कार्य पूरा भइसकेको छ। अब तयारीका कामहरू तीव्र गतिमा अघि बढाइँदैछ। “बजेट निर्माणको अन्तिम चरणमा व्यवधान नआओस् भनेर मन्त्रालयमा प्रवेश व्यवस्थापनलाई कडा बनाइएको हो।”
गत वैशाख महिनामा अर्थ मन्त्रालयले सबै सरोकारवालासँग छलफल, परामर्श र सुझाव संकलन गर्न खुला पहुँचको व्यवस्था गरेको थियो। विभिन्न संघसंस्था, विशेषज्ञ र सरोकारवाला निकायहरूसँग छलफल गरिसकेपछि अब बजेटको अन्तिम तयारीमा मन्त्रालय केन्द्रित भएको छ।
आगामी जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।