·

आगामी वर्षका लागि सरकारले एक दर्जनभन्दा बढी आयोजना प्राथमिकतामा राख्ने

Author

NEPSE trading

आगामी वर्षका लागि सरकारले एक दर्जनभन्दा बढी आयोजना प्राथमिकतामा राख्ने

सरकार आगामी आर्थिक वर्षका लागि एक दर्जनभन्दा बढी महत्वपूर्ण आयोजना प्राथमिकता सूचीमा राखेर अगाडि बढ्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार संघीय संसद्का दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्राथमिक आयोजना, नीति तथा सुधार योजनाबारे जानकारी गराएका हुन्।

राष्ट्रपतिले प्रस्तुत गरेको नीति अनुसार, सरकारले युवामुखी स्टार्टअप कार्यक्रमलाई सुधार गर्नेछ भने जेन–जी (Gen-Z) पुस्तालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। स्वास्थ्य क्षेत्रमा जनशक्तिको माग र आपूर्तिबीच सन्तुलन मिलाउन जनशक्ति विस्तार गरिने तथा स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गरिने उल्लेख गरिएको छ।

कृषिको व्यावसायीकरण र पूर्वाधार विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुने जनाइएको छ। साथै, अनावश्यक संरचना खारेज, अनलाइन सेवा विस्तार, पेपरलेस प्रणालीलाई व्यापकता दिने र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित र सुदृढ बनाउने नीति समेटिएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वका लागि संविधान संशोधनको पहल, र नीतिगत स्थिरतामार्फत आर्थिक र सामाजिक विकासमा जोड दिइनेछ। विकास निर्माणका आयोजना पुनः प्राथमिकता निर्धारण गरी समयतालिका अनुसार कार्यान्वयन गरिने र त्रुटिपूर्ण तथा असफल आयोजना खारेज गरिने जनाइएको छ।

विद्यालय शिक्षामा सुधारसहित उद्यमशीलता अभिवृद्धिका लागि पाठ्यक्रममा परिवर्तन ल्याइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

Related News