(GRDBL) ग्रीन डेभलपमेन्ट बैंकको नाफा र वितरणयोग्य मुनाफा दुवैमा उल्लेख्य वृद्धि
Author
NEPSE TRADING

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड (GRDBL) ले प्रकाशित गरेको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा र वितरणयोग्य मुनाफा दुवै अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको छ।
बैंकले समीक्षा अवधिमा ६ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ३ करोड ८६ लाखको तुलनामा ७९.५३ प्रतिशतले बढी हो। यो वृद्धि मुख्यतः खुद ब्याज आम्दानीमा १७.७३ प्रतिशत र फि तथा कमिशन आम्दानीमा १३.०१ प्रतिशतको वृद्धिका साथै इम्पेरमेन्ट चार्ज घटेर २ करोड ८९ लाखबाट ६८ लाख रुपैयाँमा सीमित भएपछि सम्भव भएको हो।
बैंकको कुल सञ्चालन आम्दानी १९.२६ प्रतिशतले बढेर सञ्चालन मुनाफा ७२.७९ प्रतिशतले बढेको छ। वितरणयोग्य मुनाफा ९४.७० प्रतिशतले उकालो लाग्दै ६ करोड ७ लाख रुपैयाँ पुगेको छ।
नाफा वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि ५ रुपैयाँ १ पैसाले वृद्धि भई १२ रुपैयाँ १८ पैसा पुगेको छ। असार मसान्तसम्ममा प्रतिशेयर वितरणयोग्य मुनाफा १० रुपैयाँ ६७ पैसा, नेटवर्थ १२२ रुपैयाँ ११ पैसा र मूल्य आम्दानी अनुपात (P/E ratio) १२२.०७ गुणा पुगेको छ।