·

हिमालयन बैंकको एफपीओ बाँडफाँट सम्पन्न, ९ जना भाग्यमानीले पाए ११ कित्ता

Author

NEPSE TRADING

हिमालयन बैंकको एफपीओ बाँडफाँट सम्पन्न, ९ जना भाग्यमानीले पाए ११ कित्ता

हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपीओ) को शेयर आज बिहान कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा बाँडफाँट गरिएको छ। बैंकले असार ३२ गतेदेखि साउन ४ गतेसम्म सर्वसाधारणका लागि एफपीओ खुला गरेको थियो।

बाँडफाँटको नतिजाअनुसार कुल १७ लाख ८६ हजार ७८२ जना आवेदकमध्ये ९ लाख २५ हजार ३७ जनाले १०–१० कित्ता शेयर प्राप्त गरेका छन् भने अत्यन्तै भाग्यमानी ९ जनाले ११–११ कित्ता शेयर हात पारेका छन्। बाँडफाँट प्रक्रिया सकेपछि लगानीकर्ताले बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल, मेरोसेयर पोर्टल, सीडीएससीको https://iporesult.cdsc.com.np/ तथा बैंकको आधिकारिक वेबसाइटमार्फत नतिजा हेर्न सक्नेछन्।

नेपाल धितोपत्र बोर्डले असार २२ गते बैंकलाई प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गर्न स्वीकृति दिएको थियो। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार संस्थापक र सर्वसाधारणबीच ७०:३० अनुपातमा शेयर संरचना मिलाउन एफपीओ ल्याइएको हो।

अब बाँडफाँट पश्चात् हिमालयन बैंकको शेयर संरचना अनुसार संस्थापकको तर्फबाट १५ करोड ८० लाख ७१ हजार ६३७ दशमलव ७२ कित्ता र सर्वसाधारणको तर्फबाट ६ करोड ७७ लाख ४४ हजार ९८७ दशमलव ५९ कित्ता शेयर कायम हुनेछ।

Related News