ब्याज आम्दानीको वृद्धिसँगै हिमालयन लघुवित्त नाफामा
Author
NEPSE TRADING

साउन १४, २०८२ , हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (HLBSL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो वर्ष नोक्सानीमा रहेको लघुवित्त यस वर्ष नाफामा फर्किएको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ९ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा २० लाख रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीले ब्याज आम्दानी बढेसँगै उल्लेखनीय सुधार गरेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५८.५० प्रतिशतले बढेको छ भने अन्य सञ्चालन आम्दानी १८.४८ प्रतिशतले वृद्धि भएको छ। कुल सञ्चालन आम्दानी ५२.७७ प्रतिशतले वृद्धि भई ३५ लाख रुपैयाँ नोक्सानीबाट १३ करोड ११ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाउन सफल भएको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि ६३ पैसा नोक्सानीबाट २८ रुपैयाँ ७० पैसा नाफामा परिणत भएको छ। असार मसान्तसम्ममा मूल्य आम्दानी अनुपात ३५.३८ गुणा तथा प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १६ पैसा पुगेको छ।
३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २२ करोड ७९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले ४ अर्ब ९३ करोड २८ लाख रुपैयाँ निक्षेप तथा सापटी संकलन गरी ४ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।