ऐतिहासिक उत्साह : मौद्रिक नीतिले थप्यो ऊर्जा, प्राविधिक रूपमा बलियो देखिँदै नेप्से
Author
NEPSE TRADING

सरकारले ल्याएको मौद्रिक नीतिको प्रभावसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ऐतिहासिक उत्साह देखिएको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो कारोबार दिन (साउन १ गते) नेप्से सूचक ७५.८४ अंकले वृद्धि भई २८७०.६३ विन्दुमा पुग्दा लगानीकर्तामा नयाँ ऊर्जा थपिएको छ। कारोबार रकम पनि १६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ, जुन झन्डै ११ महिनायताको उच्चतम हो।
नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति आइतबारबाटै कार्यान्वयनमा आएको हो। सो नीतिअनुसार व्यक्तिगत शेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्याइएको छ। साथै, बैंकहरूले हकप्रद सेयरमार्फत पुँजी बढाउन पाउने, ब्याजदर करिडोरको माथिल्लो सीमा ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत र तल्लो सीमा २.७५ प्रतिशतमा झारिएको छ। लघुवित्तको लाभांश सीमा समेत पुनरवलोकन गरिने स्पष्ट संकेत दिएको छ।
अघिल्लो वर्ष लगानीकर्ताले उच्च ब्याजदर, तरलता संकट र कर्जाको कडाइ खेप्नु परेको थियो। तर, अहिले ब्याजदर घट्दै गएकाले लगानी बैंकको निक्षेपबाट हटेर शेयर बजारतर्फ केन्द्रित हुन थालेका छन्। बैंकहरूको औसत आधार दर ६.०९ प्रतिशतमा झरेको छ, जसले कर्जाको लागत घटाएको छ र शेयर बजार प्रवेशलाई सजिलो बनाएको छ।
नेप्से सूचक २०२२ यता २६०० देखि ३००० को रेंजमा घुमिरहेको छ। पछिल्लो चार सातादेखि सूचकले ‘हायर लो’ बनाउँदै आएको छ भने कारोबार रकम पनि बढ्दो क्रममा छ। विश्लेषकहरूका अनुसार यो संरचनाले बजारले माथिल्लो प्रतिरोध ब्रेक गर्न सक्ने सम्भावनाको संकेत गर्छ।
१३ वटै उपसमूह हरियो रहनु बजारको गहिरो बलको प्रमाण हो। ‘अन्य’ उपसमूहमा ५.०९ प्रतिशतको वृद्धिसँगै जलविद्युत्, जीवन बीमा, लगानी समूहमा पनि ३ प्रतिशतभन्दा बढी वृद्धि देखिएको छ। वित्त, लघुवित्त, पर्यटन, उत्पादन र निर्जीवन बीमाले २ प्रतिशतभन्दा बढी वृद्धिदर कायम गरेका छन्। यसले बजारमा विविधीकरण र दीर्घकालीन सोच देखिन थालेको छ।
बिहीबारको कारोबार सन् २०२४ सेप्टेम्बर (भदौ ११, २०८१) यताकै उच्च हो। त्यतिबेला कारोबार १८ अर्ब ४६ करोड रुपैयाँ थियो भने साउन ३१, २०८० मा २९ अर्ब ३० करोड रुपैयाँको ऐतिहासिक कारोबार भएको थियो। हालको लहरले यस्ता रेकर्डहरू पुनः दोहोरिन सक्ने संकेत दिएको छ।
प्रविधिक विश्लेषण : साप्ताहिक चार्टमा बलियो ब्रेकआउट संकेत
अहिलेसम्म हामिले डे क्यान्डल आधारमा विश्लेषण गर्दै आएका थियौं, तर यो पटक विक्ली क्यान्डलका आधारमा हेर्दा बजार झनै सशक्त देखिएको छ। सूचक ७५.८४ अंकले वृद्धि भई २८७०.६३ मा साप्ताहिक क्लोज हुँदा कारोबार रकम झन्डै १६ अर्ब ५९ करोड रुपैयाँ पुगेको हो।
सन् २०२२ यताका उच्च र तल्लो बिन्दुहरूलाई समेट्ने २६००–३००० को दायराभित्र बजार लामो समयदेखि सीमित थियो। पछिल्लो ४ हप्तादेखि सूचकले ‘हायर लो’ बनाउँदै आएको छ, जसले ब्रेकआउटको तयारी संकेत गर्छ।
साप्ताहिक MACD संकेतकमा नीलो रेखा सुन्तला रेखामाथि गएको छ र हिस्टोग्राम हरियो क्षेत्रमा छिर्न थालेको छ। प्राविधिक विश्लेषकहरू भन्छन्—यदि यो गति जारी रह्यो भने सूचकले ३००० को मनोवैज्ञानिक प्रतिरोध पनि पार गर्न सक्छ।
ब्रोकर विश्लेषण : ठूला ब्रोकरहरूबाट उच्च कारोबार, मिश्रित व्यवहार
बिहीबारको बजारमा ठूला ब्रोकरहरूमध्ये ४ वटाले बाय अधिक गरेका छन् भने ६ वटाले सेल बढी गरेका छन्। १ अर्बभन्दा बढी कारोबार गर्ने ब्रोकरको संख्या ५ पुगेको छ।
सबैभन्दा बढी कारोबार ब्रोकर ५८ ले झण्डै २ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको देखिन्छ। १ अर्ब माथि कारोबार गर्ने अन्य ब्रोकरहरूमा ३४, ४२, ४५ र ४९ छन्।
स्टक अनुसार हेर्दा ग्लोबल आइएमई बैंक २८ नं. ब्रोकरमार्फत १ लाख ९४ हजार कित्ता किनिएको छ, जुन कुल बायको ३५ प्रतिशत हो। एनआरआईसी ५५ बाट १ लाख ९४ हजार, एभरेष्ट बैंक ४४ बाट १ लाख २० हजार, र प्राइम कमर्शियल बैंक ५२ बाट १ लाख ६ हजार कित्ता शेयर खरिद भएको देखिन्छ।
सेलतर्फ युएमएचएल ६२ बाट २ लाख १२ हजार कित्ता र एक्सेल डेभलपमेन्ट बैंक ६५ बाट ६९ हजार कित्ता सेयर बिक्री भएको देखिन्छ।
शेयर बजारको यो सुधार केवल सूचकमा मात्र होइन, लगानीकर्ता, नीति निर्माता र बजार संरचना सबैमा सकारात्मक परिवर्तनको संकेत हो। नीति निरन्तरता, पारदर्शिता र विश्वास कायम रहेमा यो सुधारलाई दीर्घकालीन बृहत बुल रनमा परिणत गर्न सकिन्छ। अबको बजार केवल भावमा होइन, धारणा र रणनीतिमा परिवर्तनको चरणमा प्रवेश गर्दैछ।