इनभर्टेड ह्याम्मर क्यान्डल फेरि बन्यो, ठूला लगानीकर्ता सक्रिय – बजार दिशाहीन अवस्थामा
Author
NEPSE TRADING

असार मसान्तको कर सम्वन्धी दबाबका कारण बजारमा मनोवैज्ञानिक प्रभाव देखिए पनि ठूला लगानीकर्ता भने सक्रिय रुपमा स्टक खरिद गरिरहेका छन्। मंगलबार पनि बजारमा इनभर्टेड ह्याम्मर क्यान्डल बनेको छ, तर पछिल्ला पोजेटिभ क्यान्डलहरू जस्तै यस क्यान्डलले पनि हालसम्म पुष्टि दिने क्यान्डल पाउन सकेको छैन, जसले बजार अझै पनि अनिश्चित दिशामा रहेको देखाउँछ।
मंगलबारको दिन नेप्से परिसूचक ०.२२ अंकले घटेर २६००.५३ विन्दुमा बन्द भएको छ। सोमबार करिब ६ अर्ब ५० करोड बराबरको कारोबार भएकोमा मंगलबार घटेर ५ अर्ब ७६ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ। कूल ३१६ स्टकको ६२,७५५ पटकको कारोबारमा १ करोड ३८ लाख कित्ता शेयर किनबेच भएको हो।
प्रविधिक विश्लेषण अनुसार सोमबार बनेको स्पिनिङ टप क्यान्डलको उच्च बिन्दु मंगलबार इन्ट्राडेमा पार गरे पनि क्लोजिङ्ग त्यसभन्दा तल रहनु उक्त क्यान्डललाई इनभ्यालिड बनाउँछ। आजको इनभर्टेड ह्याम्मरले अलिकति आशा देखाए पनि पुष्टि नहुनुले अझै ट्रेन्ड निर्धारण नभएको स्पष्ट हुन्छ।
बजारको अन्तिम समयमा हाइड्रोपावर सेग्मेन्टमा ठूलो सप्लाई देखिएको छ। कारोबार संरचना हेर्दा हाइड्रोको हिस्सा घट्दै ६१% मा झरेको छ भने इन्भेस्टमेन्ट समूहको हिस्सा दोब्बर बढ्दै ९.५% मा पुगेको छ। यसले हाइड्रोमा नाफा बुक गरेर लगानीकर्ताले इन्भेस्टमेन्ट सेग्मेन्टमा आकर्षण देखाएको संकेत गर्छ।
१५ मिनेटको औसत भारित सूचक पनि १ अंकले घट्दै बजार बन्द भएको छ, जसले अन्तिम घडीमा पनि विक्री दबाब कायम रहेको पुष्टि गर्छ। RSI पनि ३६.२४ मा झरेको छ, जुन ओभरसोल्ड नजिक पुग्दैछ – त्यसैले अल्पकालीन प्राविधिक सुधारको सम्भावना भने छ।
ब्रोकर विश्लेषण: ठूला लगानीकर्ताको सक्रियता
ब्रोकरहरूको गतिविधि विश्लेषण गर्दा १० ठूला ब्रोकरमध्ये ७ ब्रोकरमार्फत खरिद सेलभन्दा बढी देखिएको छ। ब्रोकर नं. ५८ ले ९० करोड ८५ लाख रुपैयाँ बराबरको कारोबारमा ४९ करोड बाई र ४१ करोड सेल गरेको छ। ब्रोकर नं. ३४ ले २० करोडको बाई र १९ करोडको सेल गरेको छ भने ब्रोकर नं. ५६ ले भने १६ करोड बाई र १९ करोड सेल गरेको छ।
यसबाट स्पष्ट संकेत मिल्छ कि ठूला लगानीकर्ता बजारमा सक्रिय छन्, र मूल्य घट्दो अवस्थामा स्टक संकलन गरिरहेका छन्। तर, समग्र बजार अझै स्पष्ट ट्रेन्डमा नआएको, र खुम्चिएको कारोबारले लगानीकर्ताको सतर्कता दर्शाइरहेको छ।
बजारमा पोजेटिभ संकेतहरू देखिए पनि स्पष्ट अपट्रेंड पुष्टि हुन समय लाग्ने सम्भावना देखिन्छ। सतर्कता अपनाउँदै, विश्लेषणमा आधारित लगानी रणनीति अझै उपयुक्त देखिन्छ।