·

४३९ मेगावाट बेतन कर्णाली जलविद्युत् परियोजनामा ९३ अर्ब लगानी स्वीकृत

Author

NEPSE TRADING

४३९ मेगावाट बेतन कर्णाली जलविद्युत् परियोजनामा ९३ अर्ब लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्ड नेपालले ४३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजना निर्माणका लागि ९३ अर्ब ४० करोड ७ लाख रुपैयाँ लगानी स्वीकृत गरेको छ। बोर्डको ६७औँ बैठकले परियोजना विकास सम्झौता (PDA) गर्न वार्ता समिति गठन गर्ने निर्णयसमेत गरेको हो।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा गर्दै २०८२/८३ को वार्षिक कार्ययोजना स्वीकृत गरेको बोर्डले जानकारी दिएको छ।

तल्लो अरुण परियोजनाको अनुमतिपत्र जारी गर्ने तयारी

बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको उत्पादन अनुमतिपत्रको मस्यौदा स्वीकृत गर्दै, अनुमतिपत्र जारी गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई अधिकार प्रदान गरेको छ।

अरुण–३ र पश्चिम सेती परियोजनाबारे निर्णय

बैठकमा अन्य ठूला परियोजनाबारे पनि महत्वपूर्ण निर्णय भएका छन्—

  • ९०० मेगावाट अरुण–३ जलविद्युत् परियोजनाको ‘डाइरेक्ट एग्रिमेन्ट’ मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने निर्णय।

  • ८०० मेगावाट पश्चिम सेती जलाशययुक्त परियोजनाका लागि जारी सर्वेक्षण अनुमतिपत्रको म्याद थप्ने निर्णय

अटो सर्भिस इको–इन्डस्ट्रियल पार्कका लागि सर्वेक्षण अनुमति

बैठकले थप रूपमा, हङकङस्थित ब्लेजपिक ग्लोबल ग्रुप लिमिटेडद्वारा नआह्वान गरिएको प्रस्तावका रूपमा पेस भएको अटो सर्भिस इको–इन्डस्ट्रियल पार्क परियोजना (अनुमानित लागत १६ अर्ब) का लागि—

  • विस्तृत परियोजना प्रतिवेदन (DPR) तयारीका लागि समझदारी (MoU) गर्न,

  • तथा सर्वेक्षण अनुमतिपत्र प्रदान गर्ने अधिकार बोर्डकै प्रमुख कार्यकारी अधिकृतलाई दिने निर्णय गरेको छ।

बैठकमा उच्चस्तरीय सहभागिता

बैठकमा निम्न उच्च अधिकारीहरूको उपस्थिति थियोः

  • अर्थमन्त्री रामेश्वर खनाल,

  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ,

  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा,

  • मुख्यसचिव एकनारायण अर्याल,

  • नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल,

  • तथा अन्य सरकारी अधिकारीहरू।

Related News