·

कर्णाली डेभलपमेन्ट बैंकका मुख्य संस्थापकको शेयर हिस्सा घटाइयो, नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहको निर्णय

Author

NEPSE TRADING

कर्णाली डेभलपमेन्ट बैंकका मुख्य संस्थापकको शेयर हिस्सा घटाइयो, नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहको निर्णय

कर्णाली डेभलपमेन्ट बैंकका मुख्य संस्थापकको शेयर हिस्सा घटाइएको छ। मंगलबार एक सूचना जारी गर्दै बैंकका केही शेयरधनीहरूले अवैधानिक रूपमा शेयर कायम गरेको ठहरिएको र सोही आधारमा शेयर हिस्सा कटौती गर्ने निर्णय नेपाल राष्ट्र बैंक (NRB) द्वारा गठित व्यवस्थापन समूहले गरेको हो।

नेपाल राष्ट्र बैंकले २०८१ साल पुस १० गते गरेको निर्णय अनुसार कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै त्यसको व्यवस्थापन तथा सञ्चालनका लागि एक विशेष व्यवस्थापन समूह गठन गरेको थियो। यस समूहलाई बैंकको पुनर्संरचना, दायित्व मूल्यांकन तथा पूँजी सुधारका कामको जिम्मेवारी दिइएको छ।

व्यवस्थापन समूहले बैंकको वित्तीय अवस्थाको मूल्यांकन गर्दा चुक्ता पुँजी क्षय भई दायित्व सम्पत्तिले नखाम्ने अवस्था आएको निष्कर्ष निकालेको छ। साथै, केही प्रमुख शेयरधनीहरूले चुक्ता हुनुपर्ने शेयर पूँजीबापतको रकम अवैधानिक तरिकाले चुक्ता गरेको प्रमाणित भएको समूहले जनाएको छ। यस्ता गतिविधि बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनहरूको उल्लङ्घनमा पर्ने बताइएको छ।

पुनर्संरचना प्रक्रिया अघि बढाउने क्रममा, व्यवस्थापन समूहले ती शेयरधनीहरूको शेयरपुँजी घटाएर जम्मा एक प्रतिशतमा सीमित गर्ने निर्णय गरेको छ। यो कदम बैंकको पूँजी संरचना सुधार गर्ने उद्देश्यले गरिएको हो, सूचनामा उल्लेख छ।

संस्थाको सुधार तथा पुनर्संरचना कार्यलाई प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकले कडाइका साथ निगरानी गरिरहेको छ। बैंकलाई स्थिर र स्वच्छ वित्तीय अवस्थामा पुनःस्थापित गर्न आवश्यक थप कदमहरू पनि चालिने व्यवस्थापन समूहको भनाइ छ।

Related News