चार महिनामा ३६ अर्बको लगानी वाचा: कुन क्षेत्रमा कति ?
Author
NEPSE TRADING

चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा नेपालमा वैदेशिक लगानी (एफडीआई)को ‘बिग–बुम’ आएको छ। उद्योग विभागका तथ्याङ्कअनुसार चार महिनामै ३६ अर्ब रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता स्वीकृत भएको छ, जुन गत वर्षको सोही अवधिको झन्डै दोब्बर हो। कुल ३८२ नयाँ परियोजना दर्ता भएका छन्, जसले लगानी वातावरणमा सकारात्मक गति देखाएको छ।
परियोजनाको संख्यामा भने सूचना तथा सञ्चार प्रविधि (आईसीटी) शीर्षस्थ रह्यो। २०५ परियोजना दर्ता भए पनि लगानी रकम ८७ करोड ४३ लाखमा सीमित रह्यो। विपरीत, लगानी रकमका आधारमा कृषि तथा वन आधारित उद्योग सबैभन्दा अगाडि रहे। यस समूहका १३ उद्योगका लागि मात्र २१ अर्ब ८८ करोड बराबरको एफडीआई स्वीकृत भएको छ।
पर्यटन क्षेत्र पनि लगानी आकर्षक बन्दै गएको छ। ११८ उद्योगका लागि ८ अर्ब ९४ करोड बराबरको प्रतिबद्धता आएको छ। त्यस्तै सेवा क्षेत्रमा ३ अर्ब ९ करोड, उत्पादन क्षेत्रमा १ अर्ब ६५ करोड, पूर्वाधार क्षेत्रमा ८ अर्ब ७४ करोड, ऊर्जा क्षेत्रमा १८ करोड र खानी क्षेत्रमा ४५ लाख रुपियाँ लगानी स्वीकृत भएको छ।
कात्तिक महिनामा मात्र ७१ नयाँ उद्योग दर्ता भएका छन् र सो महिनामा १ अर्ब ५४ करोड ३९ लाख बराबरको एफडीआई प्रतिबद्धता परेको विभागले जानकारी दिएको छ।



