विद्युतीय व्यवसाय : २ साउनभित्र अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने
Author
NEPSE trading

अब विद्युतीय माध्यमबाट सेवा वा सामान कारोबार गर्ने व्यवसायीहरूले अनिवार्य रूपमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको विद्युतीय व्यापार पोर्टलमा आफ्नो व्यवसाय सूचीकृत गर्नुपर्ने भएको छ।
विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सबै विद्युतीय व्यवसायीहरूलाई २ साउन २०८२ भित्र अनिवार्य रूपमा सूचीकृत हुन आग्रह गरेको हो। सरकारले ई–कमर्स कारोबारलाई व्यवस्थित गर्न तथा उपभोक्ताको हित सुरक्षित राख्न गत २ वैशाखदेखि लागू गरेको ‘विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१’ अनुसार यो व्यवस्था गरिएको हो।
कानुन अनुसार, पुराना व्यवसायीले ऐन लागु भएको मितिले तीन महिनाभित्र पोर्टलमा सूचीकृत हुनुपर्छ भने नयाँ व्यवसायीले पनि व्यवसाय सुरु गर्नु अगाडि अनिवार्य रूपमा सूचीकृत हुनुपर्नेछ।
सूचीकृत हुनका लागि व्यवसायको नाम, ठेगाना, दर्ता प्रमाणपत्र, भ्याट वा प्यान नम्बर, सम्पर्क विवरण, व्यवसाय सञ्चालन अनुमति, सामाजिक सञ्जाल लिंक लगायतका विवरण र आवश्यक कागजात अनिवार्य रूपमा विद्युतीय रूपमा पेश गर्नुपर्नेछ।
सूचना अनुसार ऐनको दफा ४ को उपदफा २ र दफा ५ अनुसार विवरणसहित विद्युतीय निवेदन पेश गरी पोर्टलमा सूचीकरण गर्नुपर्ने प्रावधान छ। व्यवसायीलाई व्यवसायको शाखा, आउटलेट तथा गुनासो सुनुवाइ प्रणालीसमेत स्पष्ट उल्लेख गर्न विभागले निर्देशन दिएको छ।