डबल बटमबाट रियाक्सन — साताको दोस्रो दिन नेप्से ४४ अंकले उक्लियो, अन्तिम समयमा बलियो सुधार
Author
NEPSE TRADING

साताको दोस्रो दिन सोमबार शेयर बजारमा सकारात्मक कारोबार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ४४.२५ अंकले बढेर २,५४७.६० विन्दुमा पुगेको छ। परिसूचक उकालो लागे पनि कारोबार रकम भने घटेको छ। हिजो आइतबार ६ अर्ब ६१ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको बजारमा आज कारोबार ४ अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ।
आजको कारोबारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट अग्रस्थानमा रह्यो, जसको ३१ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको २६ करोड ४७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भयो।
यस दिन २०० कम्पनीको शेयर मूल्य बढ्दा ४४ वटा कम्पनीको घटेको छ। तीन बीमा कम्पनीहरू — नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बीमा कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी — का शेयरमा १०.१० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। त्यसैगरी, इमर्जिङ नेपाल लिमिटेडको शेयर ९.९२% र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ९.८२% ले बढेको छ। सबै उपसूचक समूह हरियो बनेका छन्, जसमा अन्य उपसूचक समूह सबैभन्दा बढी ५.०१% ले उक्लिएको छ।
प्रविधिक विश्लेषण : डबल बटममा बजारको रियाक्सन
प्राविधिक विश्लेषण अनुसार नेप्सेले आज डबल बटम (Double Bottom) लेवलमा ठ्याक्कै रियाक्सन देखाएको छ। बजार विश्लेषक अजित खनालका अनुसार आजको क्यान्डल लामो भए पनि यो ह्यामर क्यान्डल भन्न मिल्दैन। बजारले सपोर्ट जोनमा बलियो प्रतिक्रिया दिएको छ, तर अबको क्यान्डलले आजको हाईभन्दा माथि क्लोज गर्न सके बजारमा स्थायित्व आउने अपेक्षा गरिएको छ।
तकनीकी सूचकांक (RSI) अझै पनि न्यूट्रल जोनभन्दा तल (४० मुनि) छ, जसले बजार अझै ओभरसेल्ड जोनमा रहेको र अल्पकालीन बाउन्सको सम्भावना देखाउँछ। कारोबार घटेर ४ अर्ब ६० करोडमा सीमित भए पनि अन्तिम २० मिनेटमा मात्र एक अर्बभन्दा बढी कारोबार भएकोले बजारमा अन्तिम समयमा खरिद दबाब (Buying Pressure) बढेको संकेत देखिन्छ।
सेक्टरगत र ब्रोकर विश्लेषण
आजको कारोबार संरचनामा हाइड्रो सेक्टरको कारोबार हिस्सा घटेर ३०% मा झर्यो भने इन्भेस्टमेन्ट र अन्य सेक्टरहरूमा कारोबारको हिस्सा बढेको छ।
१० ठूला ब्रोकरहरूको कारोबार विवरण हेर्दा ९ ब्रोकरले बेचेको भन्दा बढी खरिद गरेको पाइएको छ, जसले बजारमा खरिदको आत्मविश्वास पुनः फर्कँदै गएको संकेत गर्छ।