·

कर्णाली विकास बैंकमा ३ अर्ब ३८ करोड रुपैयाँ अपचलनको सनसनीखेज खुलासा

Author

NEPSE TRADING

कर्णाली विकास बैंकमा ३ अर्ब ३८ करोड रुपैयाँ अपचलनको सनसनीखेज खुलासा

कर्णाली विकास बैंकमा ३ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको तथ्य सार्वजनिक भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) द्वारा गरिएको अनुसन्धानमा बैंकका कर्मचारी तथा सञ्चालकहरूमै संलग्न रही विभिन्न बहानामा बैंकको रकम अपचलन गरिएको प्रमाणित भएको छ।

अनुसन्धानका अनुसार अन्य बैंकबाट ल्याइएको नगद रकम बैंकको प्रणालीमै नचढाई सिधै अपचलन गरिएको देखिएको छ। चेक तथा भौचर कारोबारमा संलग्न १७ जनाका माध्यमबाट मात्र १ अर्ब ११ करोड ९१ लाख रुपैयाँ अपचलन भएको छ।

त्यस्तै, विभिन्न बैंकमा जम्मा गर्ने भनिएको १५ करोड ३० लाख रुपैयाँ कहीँ कतै नजम्मा भई हराएको छ। रेमिट कारोबारमार्फत १ करोड ७८ लाख रुपैयाँ कर्मचारीको व्यक्तिगत खातामा जम्मा गरेर हिनामिना गरिएको छ।

गोल्ड लोन, तलब, बीमा, र हकप्रद शेयरका नाममा हिनामिना

गोल्ड लोन शीर्षकमा देखाएर ४ करोड ४३ लाख रुपैयाँ अपचलन भएको छ। त्यस्तै, तलब बृद्धिको नाममा ९ लाख, कर्मचारी र शेयर होल्डरको बीमाका लागि १ करोड ९६ लाख, र हकप्रद शेयर खरिदमा ५ करोड ८५ लाख रुपैयाँ अपचलन गरिएको देखिएको छ।

रेगुलेटरी निषेधपछि समेत निक्षेप संकलन गरी अपचलन

नेपाल राष्ट्र बैंकले २०८१ मंसिर ११ गतेदेखि नयाँ निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाएको थियो। तर त्यसपछि पनि बैंकले १४ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरेर अपचलन गरेको छ।

कम्पनी खोलेर ऋण प्रवाह, जग्गा किनमेलमार्फत रकम हिनामिना

बैंकका कर्मचारीहरूले आफन्तको नाममा कम्पनी दर्ता गराई ती कम्पनीलाई कर्जा प्रवाह गरेर १ अर्ब ७९ करोड ५० लाख रुपैयाँ अपचलन गरेका छन्। अपचलन गरिएको रकमबाट जग्गा खरीद गरी आफन्तको नाममा नामसारी गराई ती जग्गालाई पुनः बैंकमा धितो राखी उच्च मूल्याङ्कन गराएर थप ऋण निकालेको तथ्य पनि सार्वजनिक भएको छ।

बैंकको आन्तरिक प्रणालीमै व्यापक कमजोरी देखिएको र उच्च तहसम्मको मिलेमतोमा रकम अपचलन गरिएको पुष्टि भएको छ। सीआईबीले थप अनुसन्धानका लागि दोषीहरूलाई कानुनी कारबाहीमा ल्याउने तयारी गरिरहेको जनाएको छ।

Related News