लगानी सुस्त हुँदा राष्ट्र बैंकमा थुप्रियो पौने ८ खर्ब रुपैयाँ, बैंकहरूले २.७५ प्रतिशत ब्याजदरमा राखे पैसा
Author
NEPSE TRADING

काठमाडौं । देशको बैंकिङ प्रणालीमा झण्डै ८ खर्ब रुपैयाँ बराबरको अधिक तरलता थुप्रिएको छ । लगानीका अवसर सीमित र कर्जाको माग सुस्त हुँदा बैंक तथा वित्तीय संस्थाहरूले लगानी गर्न नसकेको रकम नेपाल राष्ट्र बैंकमा राखिरहेका छन् । अहिले बैंकहरूले उक्त रकम २.७५ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकमा थापिरहेका छन् ।
लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था रहेको छ । ब्याजदर निरन्तर घट्दै गए पनि कर्जाको प्रवाह अपेक्षित दरमा हुन सकेको छैन । यही कारणले नेपाल राष्ट्र बैंकले दैनिक रूपमा तरलता प्रशोचन (liquidity absorption) गर्न थालेको छ ।
राष्ट्र बैंकले यसका लागि निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) र स्थायी निक्षेप सुविधा (SDF) जस्ता मौद्रिक उपकरण प्रयोग गर्दै बजारबाट पैसा तान्ने गरेको छ ।
राष्ट्र बैंकका अनुसार असोज २१ गतेसम्म बैंकहरूले लगानी गर्न नसकेको ७ खर्ब ६७ अर्ब ५ करोड रुपैयाँ केन्द्रीय बैंकमा राखेका छन् ।
जसअन्तर्गत निक्षेप संकलनमार्फत ७४ अर्ब ५५ करोड रुपैयाँ र स्थायी निक्षेप सुविधा (SDF) मार्फत ६ खर्ब ९२ अर्ब ५० करोड रुपैयाँ केन्द्रीय बैंकमा जम्मा भएको हो ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिअनुसार राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमा ३.० प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरेपछि बैंकहरूले राष्ट्र बैंकमा राख्ने निक्षेपको ब्याजदर पनि घटेको हो ।
गत असारसम्म बैंकहरू २.९९ प्रतिशत ब्याजदर पाउँदै आएका थिए, तर नयाँ दर लागू भएपछि कम ब्याजदरमा रकम राख्नुपरेको छ ।
कर्जाको माग सुस्त हुँदा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढ्दै गएको छ ।
रेमिट्यान्समा आएको सुधारले पनि निक्षेप वृद्धि भएको छ, जसले तरलता अझ बढाएको छ ।
गत आर्थिक वर्षको अन्त्यतिर बैंकहरूले नयाँ लगानी भन्दा पनि कर्जा असुलीमा ध्यान दिएको कारण पनि बजारमा लगानीयोग्य रकम थपिएको हो ।
पछिल्लो समय जेनजी आन्दोलन, बाढी–पहिरो र राजनीतिक अनिश्चितता जस्ता कारणले लगानी वातावरण कमजोर बनेको छ ।
यही कारणले बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या दीर्घकालीन बन्ने संकेत देखिएको छ ।
व्यवसायमा शिथिलता र माग घट्दा बैंकहरूले रकम लगानी गर्न नसक्दा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण अवस्था सामना गरिरहेको छ ।
राष्ट्र बैंकले बजारबाट पैसा तान्नका लागि निक्षेप संकलन र स्थायी निक्षेप सुविधा (SDF) प्रयोग गर्दै आएको छ ।
त्यस्तै, प्रणालीमा तरलता कसिलो हुँदा भने स्थायी तरलता सुविधा (SLF) र रिपो (Repo) मार्फत बजारमा पैसा पठाउने काम पनि गरिरहेको छ ।



