·

नेप्से विश्लेषण: नाफा बुकिङ, साइडवेज बजार र ब्रोकरको गतिविधि

Author

NEPSE TRADING

नेप्से  विश्लेषण: नाफा बुकिङ, साइडवेज बजार र ब्रोकरको गतिविधि

पछिल्ला केही दिनदेखि जलविद्युत् क्षेत्रका ठूला कम्पनीहरूमा लगानीकर्ताले नाफा बुकिङ गर्न थालेपछि सेयर बजारमा दबाब देखिएको छ। विशेषगरी सोमबार बजार खुलेको सुरुको दुई घण्टासम्म नेप्से सूचक सकारात्मक देखिए पनि पछि बजारमा व्यापक गिरावट आएपछि सूचक फेरि तल झर्न बाध्य भयो। यसले बजारमा अनिश्चितता कायम रहेको स्पष्ट देखिन्छ।

आजको बजारमा होटल तथा पर्यटन उपसमूहमा लगानीकर्ताको आकर्षण देखियो। यो उपसमूहको सूचक साढे ४ प्रतिशतले बढ्दा अरु अधिकांश उपसमूहमा सामान्य वृद्धि देखियो। कुल १३ उपसमूहमध्ये ८ उपसमूह हरियो रहे भने ५ उपसमूह रातो देखिए। वित्त उपसमूहमा सबैभन्दा धेरै १.२२ प्रतिशतको गिरावट आयो, जसले वित्तीय कम्पनीहरूमा लगानीकर्ताको चासो घट्दै गएको संकेत गर्छ।

नेप्से परिसूचक आज २.८० अंकले बढेर २६५८.६६ विन्दुमा बन्द भएको छ। अघिल्लो दिन आइतबार पनि बजार ०.४७ अंकले वृद्धि भएको थियो। तर, आजको मुख्य विशेषता भनेको कारोबार रकमको उल्लेखनीय वृद्धि हो। ३१८ स्टकमा १ लाख ५ हजारभन्दा बढी पटकको कारोबार हुँदै १३ अर्ब १८ करोड रुपैयाँभन्दा धेरैको कारोबार भयो, जुन अघिल्लो दिनको भन्दा २ अर्ब बढी हो।

आज पियोर इनर्जी र पिपुल्स पावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। पियोर इनर्जी सूचीकृत भएदेखि लगातार उकालो लागिरहेको छ भने पिपुल्स पावरले हालै ५० प्रतिशत हकप्रद सेयर समायोजन गरेपछि मूल्यमा उछाल आएको हो। त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा साढे ८ प्रतिशतको वृद्धि आएको छ भने अप्पर हेवाखोला हाइड्रोपावरको सेयर मूल्यमा साढे ७ प्रतिशतको गिरावट देखियो।

कारोबार रकमको आधारमा सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रह्यो, जसको कारोबार ९५ करोड रुपैयाँ नाघ्यो। त्यसपछि क्रमशः ङादी ग्रुप पावर (९० करोड+) र बुटवल पावर कम्पनी (५८ करोड+) दोस्रो र तेस्रो स्थानमा रहे। यसले देखाउँछ कि हाल जलविद्युत् कम्पनीहरूमा नै लगानीको आकर्षण केन्द्रित छ।

बजारमैत्री संकेतहरू—जस्तै नयाँ गभर्नर नियुक्ति, बैंक ब्याजदरको गिरावट, र सेयर धितो कर्जामा जोखिम भार घटाएर १०० प्रतिशतमा ल्याइएकोजस्ता—सकारात्मक भए पनि बजार अझै साढे २६०० अंक वरपर नै अड्किएको छ। नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म १ खर्ब २५ अर्ब रुपैयाँको सेयर धितो कर्जा प्रवाह भइसकेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३५ अर्बले बढी हो। यति सकारात्मक संकेत हुँदाहुँदै बजारले प्रगति नदेखाउनु लगानीकर्ताको विश्वासमा कमजोरी भएको संकेत हो।

प्राविधिक रूपमा हेर्दा सोमबारको बजार निर्णायक मोडमा देखिएको छ। लगातार दोस्रो दिन इन्भर्टेड ह्याम्बर क्यान्डल बनेको छ, जुन बजारको अस्थिरता र संभावित गिरावटको संकेत हो। पछिल्ला तीन–चार दिनको क्यान्डल विश्लेषण गर्दा नेप्सेले २० र ५० दिने मुभिङ एभरेज ब्रेक गर्न संघर्ष गरिरहेको स्पष्ट देखिन्छ। यसले बजारले बलियो ब्रेकआउट गर्न सकिरहेको छैन भन्ने देखाउँछ।

दोस्रो सत्रमा केही ठूला जलविद्युत् कम्पनीहरूमा डबल टप को रियाक्सन देखिँदा बजारमा सप्लाई प्रेशर थपिएको छ। त्यस्तै, टर्नओभर डिस्ट्रीब्युसन अघिल्ला दिनझैँ देखिनु संस्थागत वा अनुभवी लगानीकर्ताहरूले मुनाफा बुकिङ गरिरहेको संकेत दिन्छ। यद्यपि, ४ महिनायता सबैभन्दा धेरै कारोबार भएको दिन भएकाले तरलता भने अझै बजारमा छ।

अब ब्रोकरहरूको गतिविधि हेर्ने हो भने, आजको बजारमा टप १० ब्रोकरमध्ये ५ ब्रोकरले बाई बढी गरेका छन् भने ५ ले सेल बढी गरेका छन्। ब्रोकर नं. ५८ ले सबैभन्दा धेरै कारोबार गर्दै १.४० अर्ब रुपैयाँ बराबरको कारोबार गर्‍यो। उसले ६४.०८ करोड बाई र ७६.७७ करोड सेल गरेको देखिन्छ। ब्रोकर नं. ४५ ले १.२४ अर्बको कारोबार गर्दै ६६.३३ करोड बाई र ५७.९१ करोड सेल गरेको छ। त्यस्तै, ब्रोकर नं. ४२ ले १.०१ अर्बको कारोबार गर्दै बाई र सेल लगभग बराबर गरेको छ। ब्रोकर नं. ३४, ४२, र १७ ले सेल नै बढी गरेको देखिन्छ।

समग्रमा हेर्दा बजारमा अझै तरलता कायम छ तर विश्लेषकहरूसमेत बजारको स्पष्ट दिशा नदेखिँदा लगानीकर्तामा अन्योलता छ। प्राविधिक रूपमा बजार निर्णायक मोडमा रहेकाले लगानीकर्ताले सतर्कता अपनाउनु अत्यावश्यक देखिन्छ।

Related News