दुई दिनको गिरावटपछि नेप्से बढ्यो, कारोबार रकम भने घट्यो
Author
NEPSE TRADING

लगातार दुई दिनको गिरावटपछि बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। बुधबारको कारोबारमा नेप्से १२.१७ अंकले बढेर २६०७.४२ विन्दुमा पुगेको छ। त्यस्तै सेन्सेटिभ इन्डेक्स १.१४ अंक, फ्लोट इन्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४५ अंकले वृद्धि भएको छ।
बजार परिसूचक बढेपनि कारोबार रकम घटेको छ। मंगलबारको ५ अर्ब १५ करोड रुपैयाँको तुलनामा बुधबार ३१२ कम्पनीका ४२ हजार ८७९ पटकको कारोबारमार्फत ९२ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा जम्मा ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
माबिलुङ एनर्जी लिमिटेडको सेयर दोस्रो दिन पनि सकारात्मक सर्किटमा पुगेको छ। कम्पनीको सेयरमूल्य ३४ रुपैयाँ ९० पैसा बढ्दै ३८४ रुपैयाँ ३० पैसामा बन्द भएको हो। त्यस्तै, उन्नती सहकार्य लघुवित्तको सेयर करिब १० प्रतिशत र नेपाल फाइनान्सको सेयर ९ प्रतिशतभन्दा बढीले बढेका छन्। तर फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमूल्य ७.४८ प्रतिशत घट्दै सबैभन्दा बढी गिरावटमा परेको छ।
कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। कम्पनीको ३८ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यसपछि हिमालयन डिष्टिलरीको साढे ३२ करोड र राधी विद्युत कम्पनीको साढे ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो।
१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढ्दा २ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूह ३.४१ प्रतिशतले बढ्दै सबैभन्दा बढी वृद्धि भएको हो भने होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूह सामान्य गिरावटमा रहेका छन्।


