२० अर्ब ४० करोड हराएको आरोप : नेपाल बैंक लिमिटेडमाथि महालेखा कार्यालयमा उजुरी, अख्तियारमा पनि उजुरी
Author
NEPSE trading

नेपाल बैंक लिमिटेडमा २० अर्ब ४० करोड रुपैयाँ हराएको विषयलाई लिएर गम्भीर आर्थिक अनियमितताको आशंका सार्वजनिक भएको छ। उक्त रकम हराएको भन्दै नेपाल बैंक लिमिटेडविरुद्ध महालेखापरीक्षकको कार्यालयमा खोजबिनको मागसहित औपचारिक उजुरी परेको छ।
उक्त उजुरी बैंकका शेयरधनी अंगराज भारतीले दर्ता गराएका हुन्। भारतीले २०७४ चैत र २०७५ असारमा साना तथा मझौला उद्योग कर्जा शीर्षकमा स्वीकृत कर्जाको रकम बैंकको प्रणाली (सिस्टम) बाट हराएको दाबी गर्दै दोषीहरूमाथि कडा कारबाहीको माग गरेका छन्।
यसअघि सोमबारमात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ लाख रुपैयाँ घुस लिएको अभियोगमा नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। यस्तै, अहिले २० अर्बको अनियमितता भएको भन्दै नयाँ उजुरी पनि अख्तियारमा पुगिसकेको छ।
उजुरीकर्ताका अनुसार—
२०७४ फागुनमा साना तथा मझौला कर्जा शीर्षकमा कर्जा सीमा रु ३३ अर्ब २७ करोड ८३ लाख थियो।
वास्तविक कर्जा भने रु ३१ अर्ब ४८ करोड ५६ लाख मात्र थियो।
चैतसम्म आइपुग्दा कर्जा सीमा घटेर रु २२ अर्ब ४५ करोड ७९ लाखमा सीमित भएको देखिन्छ भने वास्तविक कर्जा रु २१ अर्ब ५ करोड ३२ लाख मात्रै बाँडिएको देखिन्छ।
नेपाल राष्ट्र बैंकका अनुसार सोही अवधिमा जम्मा रु ५१ करोड ५४ लाख मात्र कर्जा वृद्धि भएको देखिन्छ।
तर, साना तथा मझौला कर्जा शीर्षकमा भने रु १० अर्ब ४३ करोड २३ लाखको कर्जा घटेको देखिन्छ। भारतीका अनुसार, यो घटेको रकम तत्कालीन संचालक समिति, सीईओ तथा व्यापारीको मिलेमतोमा अपचलन गरिएको हुनसक्छ।
२०७५ असारमा पनि २०७५ जेठको तुलनामा झण्डै रु ९ अर्ब ९६ करोड ९१ लाखको कर्जा गायब भएको दाबी गरिएको छ। यी दुई आर्थिक वर्षलाई जोड्दा कुल हराएको रकम २० अर्ब ४० करोड १५ लाख पुगेको आरोप भारतीले लगाएका छन्।
हालसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक रूपमा कुनै कारबाही प्रक्रिया अघि बढाएको छैन। तर, यस उजुरीले नेपाल बैंकमा उच्चस्तरीय अनियमितता भएको आशंका झनै बलियो बनाएको छ। यथाशीघ्र छानबिन र पारदर्शिता नआए बैंकिङ प्रणालीप्रति जनविश्वास गुम्न सक्ने खतरा देखिएको छ।