·

प्रधानमन्त्री ओलीसँग युरोपियन युनियनका राजदूतहरूको भेट

Author

NEPSE TRADING

प्रधानमन्त्री ओलीसँग युरोपियन युनियनका राजदूतहरूको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियन (EU) का राजदूतहरूले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन्।

नेपाली भूमिमा आयोजित सगरमाथा संवाद कार्यक्रममा भाग लिन आएका राजदूतहरूको टोलीमा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोसहित काठमाडौंस्थित युरोपेली मुलुकहरूका राजदूत र भारतबाट आएका गैरआवासीय युरोपेली राजदूतहरू सहभागी थिए।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल र युरोपियन युनियनबीचको ५१ वर्ष लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै नेपालमा भएको शान्तिपूर्ण परिवर्तन, संविधान निर्माण र समसामयिक आर्थिक विकासबारे जानकारी दिए। साथै उनले युरोपेली मुलुकहरूसँग सहकार्य अझ विस्तार गर्न आह्वान गरे।

ओलीले एमाले र कांग्रेसको गठबन्धन सरकार आर्थिक समृद्धि र रोजगारी सिर्जनामुखी रहेको बताउँदै नेपालमा लगानी बढाउन युरोपेली पक्षलाई आग्रह गरे। उनले नेपाल अब स्थायित्व र समृद्धिको दिशामा अघि बढिरहेको, लोकतान्त्रिक प्रणालीबाट पछि फर्किने कुनै सम्भावना नरहेको र भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम रहेकोमा जोड दिए।

युरोपेली राजदूतहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार, हरित ऊर्जा, सूचना प्रविधि र जलवायु परिवर्तनजस्ता क्षेत्रमा नेपालसँग निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले सगरमाथा संवादको सफल आयोजना र संक्रमणकालीन न्याय प्रक्रियामा भएको प्रगतिलाई स्वागत गर्दै पीडितका अधिकारलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव पनि दिए।

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको पनि उपस्थिति थियो ।

Related News