साम्लिङ्ग पावर कम्पनीको चौथो त्रैमासमा नाफा, EPS सुधार
Author
NEPSE TRADING

साम्लिङ्ग पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले ३८ लाख ५८ हजार ६१४ रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ७१ लाख ६८ हजार रुपैयाँभन्दा बढी नोक्सानी व्यहोरेको थियो। यस त्रैमासमा कम्पनीको प्रति शेयर आम्दानी (EPS) रु. १.७६ रहेको छ, जुन अघिल्लो त्रैमासको ऋणात्मक EPS रु. (०.४५) बाट उल्लेखनीय सुधार हो।
चौथो त्रैमाससम्म कम्पनीको कूल आम्दानी २२ करोड ५८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा घटेको हो। कम्पनीले २४ लाख रुपैयाँ लागत खर्च गरेको छ भने अमोर्टाइजेसन र अपरेसनल खर्च समेत गरेर कूल ११ करोड २८ लाख रुपैयाँभन्दा बढी सञ्चालन खर्च व्यहोरेको छ। नाफाको प्रमुख कारण भने खर्च कटौती र पुनः सञ्चालनपछि देखिएको सकारात्मक वित्तीय प्रवाह हो।
कम्पनीको वित्तीय विवरण अनुसार हाल कुल सम्पत्ति २ अर्ब १५ करोड रुपैयाँ रहेको छ भने कूल दायित्व २ अर्ब १ करोड रुपैयाँ पार गरेको छ। कम्पनीको शेयर पुँजी ५० करोड रुपैयाँ कायम छ भने रिजर्भ तथा सरप्लस ३ करोड ९२ लाख रुपैयाँ रहेको छ। शुद्ध सम्पत्ति प्रति शेयर (Net Worth Per Share) रु. १०७.८४ र बजार मूल्य रु. ५३८.१७ कायम रहेको छ।
कम्पनीले उल्लेख गरे अनुसार, पूर्वी नेपालमा लगातारको वर्षात र बाढीका कारण १३२ केभी प्रसारण लाइनमा क्षति पुगेपछि २०८१ असारमा उत्पादन बन्द भएको थियो। कात्तिक १९ बाट पुनः उत्पादन सुरु भएपछि कम्पनीले ४ करोड ३३ लाख रुपैयाँ आम्दानी गुमाएको जानकारी दिएको छ। यसले कम्पनीको सञ्चालनमा चुनौती थपेको छ।
बोर्ड अफ डाइरेक्टर्सले कम्पनीको प्रशासनिक नीति, मानव संशोधन नीति लगायत नीति तथा मार्गनिर्देशनमार्फत सुशासन मजबुत बनाउने प्रतिवद्धता जनाएको छ। कम्पनीले आगामी दिनमा अन्य आयोजना सञ्चालन गर्ने स्पष्ट योजना भने उल्लेख गरेको छैन। चौथो त्रैमासको वित्तीय विवरणले कम्पनीले कठिनाइ पार गर्दै सुधारतर्फ पाइला चालेको देखाउँछ तर आगामी दिनमा दिगो नाफा सुनिश्चित गर्न चुनौती कायमै छ।