मंसिरसम्म राजस्व संकलन लक्ष्यको ७८.७५ प्रतिशतमा सीमित
Author
NEPSE TRADING

काठमाडौं । चालु आर्थिक वर्षमा सरकारको राजस्व संकलन लक्ष्यअनुसार अघि बढ्न सकेको छैन । मंसिर मसान्तसम्म कुल लक्ष्यको ७८.७५ प्रतिशत मात्रै राजस्व संकलन भएको छ ।
तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरसम्म सरकारले ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जबकि सो अवधिसम्म कुल वार्षिक लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँमध्ये ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ संकलन हुनुपर्ने थियो ।
त्यस्तै, मंसिर महिनाका लागि तोकिएको ९५ अर्ब २० करोड रुपैयाँ राजस्व लक्ष्यको तुलनामा ८० अर्ब २७ करोड रुपैयाँ मात्र संकलन भएको छ । यो मासिक लक्ष्यको ८४.३१ प्रतिशत हो ।
अर्थविद्हरूका अनुसार आर्थिक गतिविधि सुस्त रहनु, आयात घट्नु तथा व्यवसायिक वातावरण कमजोर हुनुका कारण राजस्व संकलनमा अपेक्षित प्रगति हुन नसकेको देखिन्छ ।



