सोल्टी होटलको ५१औँ वार्षिक साधारण सभा सम्पन्न, दिनेशबहादुर विष्ट कार्यकारी अध्यक्ष नियुक्त
Author
NEPSE TRADING

काठमाडौं । सोल्टी होटल लिमिटेडको ५१औँ वार्षिक साधारण सभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाबाट नयाँ सञ्चालक समिति गठन हुनुका साथै दिनेशबहादुर विष्ट कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् ।
पाँचतारे डिलक्स सोल्टी होटल लिमिटेडले विगत ६ दशकभन्दा बढी समयदेखि नेपालको पर्यटन क्षेत्रको विकासमा योगदान दिँदै आएको उल्लेख गर्दै सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा एकीकृत आर्थिक विवरण सर्वसम्मत रूपमा पारित गरेको छ ।
साधारण सभाले सोही आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको १६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने र १५५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पनि स्वीकृत गरेको छ । यससँगै, आर्थिक वर्ष २०८२/८३ का लागि जे.बी. राजभण्डारी एण्ड डिविन्स, चार्टर्ड एकाउन्टेन्ट्स, काठमाडौंलाई वैधानिक लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित भएको छ ।
साधारण सभाबाट ९ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ । समितिमा संस्थागत शेयरधनीहरूको तर्फबाट पाँच जना, सर्वसाधारण शेयरधनीहरूको तर्फबाट तीन जना तथा एक जना स्वतन्त्र सञ्चालक चयन भएका छन् ।
संस्थागत शेयरधनी सोल्टी इन्टरप्राइजेज प्राइभेट लिमिटेडको प्रतिनिधित्व गर्दै दिनेशबहादुर विष्ट, रवि भक्त श्रेष्ठ, राजेश काजी श्रेष्ठ र जया राज्यलक्ष्मी शाह सञ्चालकमा नियुक्त भएका छन् । नेपाल वायुसेवा निगमको प्रतिनिधित्व गर्दै अमृतमान श्रेष्ठ सञ्चालकमा नियुक्त भएका छन् ।
सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रकाश विक्रम खत्री, शशीराज पाण्डे र निरञ्जन कुमार टिवरेवाला सञ्चालकमा निर्वाचित भएका छन् । यस्तै, डा. माधव गिरी स्वतन्त्र सञ्चालकमा नियुक्त भएका छन् ।
नयाँ सञ्चालक समितिको गठनसँगै सोल्टी होटलले व्यवस्थापन सुदृढ गर्दै पर्यटन क्षेत्रको पुनरुत्थान र दीर्घकालीन व्यवसायिक रणनीतिमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।



