राष्ट्र बैंकको सकारात्मक नीतिपछि पनि बजार रातो
Author
NEPSE trading

नेपाल राष्ट्र बैंकले शेयर कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गर्ने निर्णय गरे पनि शेयर बजारमा त्यसको तत्काल सकारात्मक प्रभाव देखिएको छैन। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत गभर्नर डा. विश्वनाथ पौडेलले ल्याएको लचिलो नीतिपछि बजार उकालो लाग्ने अपेक्षा गरिएको थियो, तर सोमबार नेप्से सामान्य अंकले घट्दै रातो देखिएको हो। कारोबार रकममा भने केहि सुधार देखिएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल शेयर कर्जा १ खर्ब २४ अर्ब नाघिसकेको छ, जसमा वाणिज्य बैंकको हिस्सा १ खर्ब रुपैयाँभन्दा बढी छ। विशेषगरी ५० लाखभन्दा माथिको कर्जामा उल्लेख्य वृद्धि देखिएको छ, जसमा ९ महिना भित्र ३१ अर्बको वृद्धि संस्थागत लगानीकर्ताबाट भएको अनुमान गरिएको छ। यता औसत ब्याजदर ८.१२ प्रतिशतमा झरेको छ भने अधिकांश कर्जा ९ प्रतिशतभन्दा कम ब्याजदरमा उपलब्ध छ।
तर, बजार अझै पनि राजनीतिक अस्थिरता, बजेटप्रतिको अनिश्चितता र नीतिगत अन्योलताले ग्रस्त देखिन्छ। राजावादी आन्दोलन र प्रमुख विपक्षी दल एमालेको प्रदर्शन एउटै दिन परेकाले लगानीकर्ताले ‘वेट एन्ड वाच’ रणनीति अपनाएका छन्। यसका साथै, लगानीकर्ताले ब्रोकरमार्फत मार्जिन लेन्डिङ, प्री–IPO तथा क्राउड फन्डिङ, NRNA पहुँच, घाटा समायोजन, वस्तु एक्सचेन्ज र कर सम्बन्धी स्पष्टता जस्ता माग राख्दै सरकार र नियामक निकायको ध्यानाकर्षण गराएका छन्।
प्राविधिक विश्लेषणतर्फ हेर्दा सोमबार नेप्सेमा डेथ क्रसओभर पुष्टि भएको छ, जहाँ ५० दिने मूभिङ एभरेजले २०० दिने मूभिङ एभरेजलाई तलबाट काटेको छ। यसले बजारमा दीर्घकालीन करेक्सन संकेत गर्छ। पछिल्ला चार क्यान्डलले २६६०–६५ लेबललाई माइनर सपोर्ट बनाए पनि यो स्तर कमजोर देखिन्छ। सपोर्ट गुमेमा २५९० लेबलमा दबाब सर्न सक्छ। RSI न्यूट्रल मोडमा रहे पनि साना मुनाफा बुक गर्ने प्रवृत्ति देखिँदा टिकाउ सुधार देखिएको छैन।
ब्रोकर विश्लेषणमा आज १० प्रमुख ब्रोकरमध्ये ६ ले सेल अधिक गरेका छन्। ब्रोकर नं. ५८ ले सबैभन्दा धेरै ७७.३३ करोड कारोबार गर्दै ३७.७१ करोड बाई र ३९.६२ करोड सेल गरेको छ। ब्रोकर नं. ३४, ५६, ४५, ४४ लगायतले पनि सेल पक्षमा सक्रियता देखाएका छन्।