सूर्यकुण्ड हाइड्रोको आईपीओ पुस ९ देखि, आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन
Author
NEPSE TRADING

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले पुस ९ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत बराबरको १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ मूल्यको १३ लाख ७९ हजार ३५० कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ ।
कम्पनीले यसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात ६ करोड ८९ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो । सो शेयर खरिदका लागि नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका सम्पूर्ण वडाका स्थानिय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि आईपीओ निष्काशन छिटोमा पुस २३ गते बन्द हुनेछ भने पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ ८ गतेसम्म खुला रहनेछ । स्थानिय बासिन्दाहरूले ज्योति विकास बैंकको समुद्रटार शाखा, कृषि विकास बैंकको खैरेनिटार शाखा, राष्ट्रिय वाणिज्य बैंकको खैरेनिटार शाखा, ट्रेड टावर थापाथलीस्थित कम्पनीको रजिष्टर्ड कार्यालय तथा दुप्चेश्वर गाउँपालिकास्थित आयोजनास्थलबाट आवेदन फाराम प्राप्त गरी दरखास्त दिन सक्नेछन् । आवेदन फाराम बापत २ रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ ।
यसका साथै, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात ६८ लाख ९६ हजार ७०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ६८ हजार ९६७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ । सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पुस १४ गतेभित्र आवेदन दिनुपर्नेछ । उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस २३ गतेसम्म लम्बिनेछ । उनीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् । साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकसित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले सञ्चालन गरिरहेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रुपैयाँ २७ पैसा रहेको कम्पनीले जनाएको छ ।
उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि २६ वर्ष बाँकी रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.७१ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।



