ट्रम्पको चेतावनी : जापानबाट आयात हुने वस्तुमा ३०–३५ प्रतिशतसम्म कर वृद्धि हुन सक्ने
Author
NEPSE TRADING

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँगको व्यापार सम्झौता समयमै नहुने सम्भावना देखाउँदै जापानी सामानमा आयात कर ३० देखि ३५ प्रतिशतसम्म पुर्याउने चेतावनी दिएका छन्। एयर फोर्स वानमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले जुलाई ९ भित्र सम्झौता सम्भव नदेखिएको बताउँदै जापानप्रति आफू शङ्काशील रहेको उल्लेख गरे।
उनले अमेरिकी चामलको आयात स्वीकार्न जापानले अनिच्छा देखाएको र दुई देशबीच सवारी साधन व्यापारमा असन्तुलन रहेको गुनासो गरेका छन्। ट्रम्पले "जापानसँग ठूलो व्यापार घाटा छ, त्यसैले जापानले ३०–३५ प्रतिशत वा आवश्यकअनुसारको कर तिर्नुपर्नेछ" भनी स्पष्ट पारे। उनले यो अवस्थालाई अमेरिकी जनतामाथिको अन्याय भनेका छन्।
यसअघि ट्रम्पले विभिन्न मुलुकबाट आयातमा १० प्रतिशत कर लगाउने निर्णय लिए पनि सम्झौता वार्तालाई समय दिन भन्दै केही कर वृद्धि घोषणा स्थगन गरेका थिए। तर यो विराम जुलाई ९ मा सकिँदैछ। यदि उक्त मितिभित्र सम्झौता नभएमा उच्च दरको आयात कर लागू हुने निश्चित भएको छ। हालसम्म अमेरिकाले बेलायत र चीनसँगमात्र व्यापारसम्बन्धी आंशिक सम्झौता गर्न सकेको छ।
टोकियोका व्यापार दूत रायोसी अकाजावाले पछिल्लो वार्तामा केही प्रगति भए पनि अझै सहमतिको स्पष्ट बिन्दु नपत्ता लागेको बताएका छन्। अब अमेरिका र जापानबीचको व्यापार सम्बन्ध कुन मोडमा जान्छ भन्ने चासो बढेको छ।