राष्ट्र बैंकले फेरि ३० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै, तरलता व्यवस्थापनको प्रयास जारी
Author
NEPSE trading

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज (आइतबार) पुनः ३० अर्ब रुपैयाँ बराबरको २१ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गरेको छ। यसअघि वैशाख २१ गते जारी गरिएको २७ अर्ब ५० करोडको उपकरण परिपक्क भएपछि, केन्द्रीय बैंकले पुनः रकम प्रशोचन गर्ने निर्णय लिएको हो।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म माग गर्न सक्नेछन्। बोलकबोल प्रक्रियामार्फत दिउँसो ३ बजेसम्म आवेदन दिन सकिनेछ। साँवा तथा ब्याज भुक्तानी मिति असार १ गते तोकिएको छ भने ब्याजदर बोलकबोलद्वारा निर्धारण हुनेछ।
यसअघि बुधबार मात्रै ५० अर्ब रुपैयाँको यस्तै निक्षेप संकलन उपकरण जारी गरिएको थियो जसमा २१ वटा बैंक तथा वित्तीय संस्थाले ५२ अर्ब १० करोड आवेदन दिएका थिए। मागअनुसार राष्ट्र बैंकले ५० अर्ब मात्र लिएको थियो। औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो।
नेपालको बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता अधिक देखिएको छ। ऋण प्रवाह अपेक्षाअनुसार नहुँदा बैंकहरुसँग ठूलो परिमाणमा लगानीयोग्य रकम थन्किएको छ। ब्याजदर निरन्तर घटिरहेको भए पनि कर्जाको माग कमजोर देखिएको छ।
हाल बैंकिङ प्रणालीमा कुल ६८ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने ५५ खर्ब ३१ अर्ब कर्जा लगानी भएको छ। कर्जा निक्षेप अनुपात (CD Ratio) हाल ७८.९९% रहेको छ, जसअनुसार बैंकहरुसँग अझै ६ खर्ब ७६ अर्ब रुपैयाँ लगानीयोग्य रकम बाँकी रहेको देखिन्छ।
कर्जा प्रवाहमा सुस्ती रहेकाले बैंकहरुले हाल निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा (Standing Deposit Facility - SDF) मा रकम राख्दै आएका छन्। केन्द्रीय बैंकले बारम्बार यस्ता उपकरणमार्फत तरलता व्यवस्थापन गर्ने नीति अख्तियार गरिरहेको छ।